अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४८ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री थापा समक्ष दिनहुँ जसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो ।

जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनु भएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिनुभयो । मन्त्री थापाले अज्ञात समुहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बताउनुभयो । साथै उहाँले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिनु भएको प्रवक्ता चौलागाईले उल्लेख गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलले आजै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरुका उपकरण माथिको सुरक्षा चिन्ता बारे अवगत गराएको छ ।

जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिनुभयो । महासंघ प्रतिनिमिण्डलमा महासंघका मानार्थ सदस्य समेत रहनु भएका सांसद जीप छिरिङ लामा शेर्पा, महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, महासंघ कार्य समिति सदस्य मंगल शाही, निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू