अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

प्रधानमन्त्री ओली र मोदीद्वारा भिडियो कन्फरेन्समार्फत एकिकृत जाँच चौकी (आइसिपी) को उद्घाटन

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:३७ मा प्रकाशित

विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गर्नुभएको हो ।

जाँच चौकी संचालनमा आएसंगै हाल मालबाहक सवारी मात्रै आवत–जावत गर्ने भए पनि चाँडै यात्रुसमेत एकीकृत जाँच चौकीबाटै आवत–जावत गर्ने व्यवस्था मिलाइने छ । यस्तै, रेलबाट समेत सामान आयात–निर्यात गर्न आवश्यक पूर्वाधारको विकास पनि गर्ने तयारी भइरहेको छ । दुई महिना पहिले नै आइसिपीको निर्माण सम्पन्न भए पनि उद्घाटन मोडलको विषयमा टुंगो नलाग्दा सञ्चालनमा आउन ढिलो भइरहेको थियो। आइपिसी सञ्चालनमा आएपछि पूर्वको व्यापार सहजीकरणमा सहयोग पुग्न उद्योगी, व्यवसायीले बताउँदै आएका छन्।

नेपाल र भारत दुवै देशको एउटै स्थानमा भन्सार सञ्चालनमा आउने भएकाले व्यवसायीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन । आइसिपीले नेपालबाट भारत निर्यात हुने वस्तुहरू निर्यातमा समेत सहज हुने बताईएको छ । दुवै देशको साझा ल्याब पनि हुने भएकाले नेपालबाट कृषि तथा पशुजन्य वस्तु निर्यात गर्नसमेत सजिलो हुनेछ । यसअघि कृषि उपज निर्यात गर्न ल्याब टेस्टका लागि भारतको कोलकाता पुर्याउनुपर्ने बाध्यता थियो।

भारततर्फको जाँच चौकी भने दुई वर्ष पहिले नै निर्माण सम्पन्न भइसकेको थियो। नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ,रेस्टुरेन्ट, बैंकर अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ।

इलेक्ट्रिक सब–स्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ। भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भारतर तेस्रो मुलुकको आयात–निर्यात सहज, सरलर व्यवस्थित हुने पूर्वका आयात–निर्यातकर्ताको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू