अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

एनआरएनए पोखरा बैठक– लाप्राकको एनआरएन नमूना बस्ती निर्माण सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा बनाएको एनआरएन नमूना बस्ती निर्माण सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जानकारी दिएको हो ।

पोखरामा सम्पन्न संघको ७१ औँ बैठकका निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष कुमार पन्तले अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको र हिउँ पग्लेपछि बाँकी रहेको काम सम्पन्न गरेर हस्तान्तरण गरिने बताउनुभयो । पन्तले नेपालमा गर्ने भनिएको लगानी, काठमाडौंमा बन्दै गरेको सार्वजनिक शौचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष–२०२० लगायतका विषयमा जानकारी दिनुभएको थियो । संघले काठमाडौं महानगरपालिकाबीच नमूना सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख रुपैयाँ सहयोग संकलनसमेत गरेको छ ।

बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्य, संरक्षक तथा सल्लाहकार गरी ५८ जना सहभागी थिए । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक विभिन्न कार्यक्रमको सुरुवात गरेको उल्लेख गरेको छ । यस अभियानलाई सफल बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को बार्षिक कार्यक्रम रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गर्ने योजना संघको छ ।

एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्राष्ट्रिय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलन आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन आयोजना हुने भएको छ ।

संघले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतःपत्र तयार पार्ने भएको छ ।त्यसका लागि विज्ञसम्मिलित कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ ।वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्न उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू