अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

नासाले जनगणना २०२० सफल पार्न हेल्पडेस्क सञ्चालन गर्ने

बिआरटीनेपाल २०७६ माघ ५ गते ९:१९ मा प्रकाशित

नेप्लिज एसोसिएसन इन साउथ इष्ट, अमेरिका, नासाले आगामी जनगणना २०२० लाई सहयोग पुर्‍याउन विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । जनगणनाको अभियान सुरु हुन् छोटो समय मात्रै बाँकी रहेको अवस्थामा कसरी प्रभावकारी रूपमा कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आज नासाको जनगणना २०२० समितिको दोस्रो कन्फरेन्स कल बैठक सम्पन्न भयो ।

बैठकलाई सम्बोधन गर्दै नासाका अध्यक्ष विनय अर्यालले समतिले आज सम्म गरेको तैयारीको प्रशंसा गर्दै जनगणना जस्तो संवेदनशील कार्यमा सहभागी भई अमेरिकामा भएका नेपाली समुदायलाई नेपालीका रूपमा पंजीकृत गर्न सक्दो सहयोग गर्ने कार्यमा लाग्न सल्लाह दिनुका साथै सो अभियान सुरु भए पछि नासाले यसै समिति अन्तर्गत रहने गरी जनगणना २०२० हेल्पडेस्क सञ्चालन गर्न लागेको जानकारी दिनु भयो ।

सोही बैठकमा बोल्दै नासाका महासचिव कृष्ण श्रेष्ठले यो जनगणनाबाट अमेरिकामा नेपाली समुदायको वास्तविक तथ्याङ्क निकाल्न सकियो भने आगामी दिनमा अमेरिकी सरकारले नेपाली समुदायलाई दिने सुविधाहरू वृद्धि हुने सम्भावना रहेको कुरा बताउँदै जनगणना २०२० समितिलाई सस्ताको पूर्ण सहयोग रहने कुरा बताउनु भयो ।

जनगणना २०२० समितिका अध्यक्ष सुमन बस्तीले नेपाली अमेरिकनलाई अल्पसङ्ख्यक समुदायको रूपमा मान्यता दिलाउन सकियो भने आगामी दिनमा नेपाली समुदायले ठुलो लाभ लिन सक्ने कुरा बताउनु भयो । बस्तीले नासाले सुरु गरेको यो अभियान सफल बनाउन यस क्षेत्रका सबै नेपाली सामाजिक संस्थाहरू सँग सहकार्य गर्दै अघि बढ्ने कुरा बताउनु भयो ।

समितिका अध्यक्ष सुमन बस्तीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा प्रमुख अतिथि तथा नासाका अध्यक्ष विनय अर्याल र विशेष अतिथि तथा संस्थाका महासचिव कृष्ण श्रेष्ठले समितिका सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको जबाफ दिनुभएको थियो ।

प्रतिक्रिया