अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भिडियो कन्फ्रेन्स हुँदै

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:३४ मा प्रकाशित

भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी)को प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुहुने भएको छ । माघ ७ गते आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत दुई प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको हो । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका–१८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भएकाले उद्घाटनको समय तोकिएको सहरी विकास तथा भवन निर्माण विभागका राजु शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सिंहदरबारको वार रुमबाट र मोदी दिल्लीबाटै भिडियो कन्फ्रेन्समा जोडिने र एकै समयमा स्विच अन गरेर उद्घाटन गरिनेछ ।

सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले आईसीपीको निर्माण थालेको थियो । १ अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी बनाएको हो । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि बाढीले केही ढिलो भएको बताइएको छ । सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनका लागि तयार भए पनि करिब ३ महिना ढिलो हुने उद्घाटनसँगै केन्द्र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।

आईसीपी १ सय २९ बिघामा फैलिएको छ । केन्द्रको परिसर बाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर केन्द्र निर्माण गरिएको छ । आयात निर्यातमा एकद्वार लागू गर्न भारतीय आईसीपी र नेपाली आईसीपीबीच बढीमा ३ सय मिटर दुरी छ । नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ। सो सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । सोही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहींबाट उद्योगीले सवारीसाधन आफूअनुकूल बाहिर निकाल्न सक्ने छन् ।

जाँच केन्द्रभित्र सुरक्षाका लागि चौतर्फी सुरक्षागार्ड टावर राखिएको छ । त्यसैगरि सो क्षेत्रका लागि ३० हजार लिटरको खानेपानी ट्यांकी राखिएको छ । जाँच केन्द्रमा संकलन हुने फोहोर तथा ढल प्रशोधन कक्षसमेत छ । केन्द्रभित्र विभिन्न कार्यालयका लागि फरक फरक भवन निर्माण गरिएको छ । मुख्य प्रशासनिक भवनसँगै गोदाम, पशु तथा कृषि क्वारेन्टाइन जाँच केन्द्र, बैकिङ भवन, सुरक्षा ब्लक, विद्युतगृह, चमेनागृह छन् ।

एकैपटक १ सय ३० मालवाहक सवारी पार्किङ गर्न सकिन्छ । सवारीचालकलाई रिफ्रेसमेन्टका लागि अलग भवन छ । तेस्रो मुलुकबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण गर्न प्राथमिक उपचार केन्द्र पनि छ । केन्द्र सञ्चालन नहुँदा नेपाल–भारत दुवैतर्फको मालवस्तु, सवारीसाधन बजारको बीचबाट ठुल्ठूला कन्टेनर, ट्रक नेपाल भित्र्याउनु र पठाउनुपर्ने बाध्यता छ । भारतले आफ्नोतर्फको सामान भने भारतको आईसीपीबाटै घुमाएर आयात निर्यात गर्दै आएको छ । नेपालतर्फबाट भने आयात भएका खाली सवारीसाधन पठाउने एकतर्फी काम मात्र भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू