अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालय बैठकको निर्णय

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:०१ मा प्रकाशित

सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान पनि करिब दुई घण्टा छलफल भएको थियो। उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले सभामुखको उमेद्वारमा सापकोटाको नाम प्रस्ताव गर्नुभएको थियो । त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र प्रचण्डले सापकोटालाई सभामुख बनाउने अडान लिनुभएको थियो । दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन बनेको थियो । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ।

सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो। सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिनुभएको थियो । नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध पनि खुलेको छ। प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ। उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू