अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् – प्रहरी महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०७ मा प्रकाशित

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको शनिवार भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो ।

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको महानिरीक्षक खनालको भनाइ थियो । महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताउनुभयो ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नागरिक र प्रहरीको सहकार्यले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सम्भव रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीको कार्यसम्पादनमा निर्माण हुन लागेको भवनले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू