अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

चीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै

बिआरटीनेपाल २०७६ माघ ४ गते ७:३८ मा प्रकाशित

चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सात सय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् ।

गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षिय वृद्धाको मृत्यु भएको बताइएको छ । नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा चेकजाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ ।

वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्याधिक मानिसले यात्रा गर्ने भएकाले संक्रमणप्रति सचेत रहेको अधिकारीहरुले जनाएका छन् । नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।

वुहानको भ्रमण गरेर स्वदेश फर्किका आफ्ना केही नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले दावी गरेका छन् । चिकित्सकको टोलीले भाइरसको बारेमा अध्ययन जारी रहेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सी फूड बिक्री हुने बजारबाट उक्त भाइरसको संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू