अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान्’ छनौट

बिआरटीनेपाल २०७६ माघ ३ गते ११:३४ मा प्रकाशित

काठमाडौँ, । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) फागुन १ देखि ५ गते सम्म काठमाण्डौँमा हुने भएको छ । बिहीबार पर्यटन बोर्डमा आयोजित घोषणा कार्यक्रममा प्रमुख अतिथि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतित्थ्यमा चलचित्र महोत्सवको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, सांसद तथा गायिका कोमल ओली, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्म कर्मीको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवमा ८० चलचित्र प्रदर्शन हुनेछ । प्रदर्शनीमा डकुमेन्ट्री (वृत्तचित्र) तर्फ नेपालबाट एक मात्र सहायक श्रीमान् छनौटमा परेको पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

निर्देशक गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र नेपालको हिमाली क्षेत्रमा रहेको बहुपति प्रथामा आधारित छ । अहिले पनि नेपालका केही हिमाली जिल्लामा घरमा जति दाजुभाइ भए पनि एउटै श्रीमती बिहे गर्ने प्रचलनलाई मुख्य विषयवस्तुको रूपमा उतारिएको छ ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधालाई पनि समेटिएको छ ।

घोषणा कार्यक्रमका बोल्दै प्रमुख अतिथि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देश विकासमा नेपाली चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेपाली चलचित्र क्षेत्रलाई केही समस्या पर्दा आफू हरपल सहयोगका लागि तत्पर रहेको मन्त्री मानन्धरले बताउनुभयो ।

महोत्सवले नेपाली फिल्मको विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताउनुभयो । नेपाली चलचित्र क्षेत्रको विकासका लागि आफूहरू सदैव लागिरहने उहाँको भनाई रहेको थियो ।

महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेर फिल्म प्रदर्शन गरिने छ ।

महोत्सवमा ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट छनौट गरिएका ८० चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

प्रतिक्रिया