अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

ट्रम्पमाथिको महाअभियोग तल्लो सदनले सिनेटमा पठायो

बिआरटीनेपाल २०७६ माघ १ गते २१:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ । तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।

यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुसार नै मत दिएका छन् । महाअभियोग माथिल्लो सदनमा पठाउने पक्षमा २२८ तथा विपक्षमा १९३ मत परेको हो । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथिका दुई महाअभियोग आर्टिकलमा हस्ताक्षर गर्नुभएको छ । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको महिना राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । नेपाली समय अनुसार गएको पुस ३ गते बिहान अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो । त्यसबेला शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।

यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा गएको पुस ३ गते बिहान भएको मतदानमा २२९ तथा विपक्षमा १९८ मत परेको थियो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिए थिए । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।

तल्लो सदनबाट महाअभियोग सम्बन्धी दुई आर्टिकल पारित भएसँगै थप प्रक्रियाका लागि माथिल्लो सदन सिनेट पठाउनु पर्ने हुन्छ । सभामुख पेलोसीले मअभियोग सिनेटमा ट्रायलमा पठाउनका लागि ढिला गरिन् । तर अन्ततः बुधबार तल्लो सदनले महाअभियोग सम्बन्धी आर्टिकलहरु सिनेटमा पठाउने प्रस्ताव पारित गरेको हो ।

अब माथिल्लो सदन सिनेटले ट्रम्पलाई महाअभियोगमा दोषी ठहर गरी ह्वाइट हाउसबाट बर्खास्त गर्ने या नगर्ने सम्बन्धमा फैसला गर्ने छ । सिनेटमा रिपब्लिकनको बहुमत छ । सिनेटमा अब महाअभियोगका लागि बहस सुरु हुनेछ । माथिल्लो सदनमा हुने बहसका लागि सभामुख न्यान्सी पेलोसीले सात सांसदको समूह बनाएकी छन् । सांसदहरुको समूहलाई व्यवस्थापक भनिन्छ, उनीहरुले सिनेटमा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पेश गर्ने छन् ।

बहसको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन जी. रोबर्टस जुनियरले गर्ने छन् । यस्तै वकिलहरुको समूहले ट्रम्पको पक्षमा बहस गर्ने छ । बहसका लागि डेमोक्र्याट र रिपब्लिकन पक्षका सिनेटका नेताहरु सहमत हुनु पर्ने छ । आउँदो मंगलबारदेखि बहस सुरु हुने जनाइएको छ । माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई सिनेटरले पक्षमा मत दिनु पर्नेछ । अर्थात ट्रम्प महाअभियोग लागेर राष्ट्रपतिबाट बर्खास्त हुनका लागि सिनेटका १०० मध्ये ६७ सदस्यले पक्षमा मत दिनु पर्ने हुन्छ ।

हाल अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ । ५३ रिपब्लिकन र ४५ डेमोक्र्याट सिनेटर छन् । यस्तै दुई सिनेटर स्वतन्त्र छन् तर उनीहरुले डेमोक्र्याटकै पक्ष लिने लगभग निश्चित जस्तै छ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वा्चित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गर्नुभएको थियो । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू