अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

अमेरिकामा माघे सङ्क्रान्ति मनाइयो (फोटो फिचर)

बिआरटीनेपाल २०७६ माघ १ गते ११:०९ मा प्रकाशित

कोलोराडो, डेनभर मगर समाजद्वारा आयोजना गरिएको माघे सङ्क्रान्ति पर्व गत शनिवार कोलोराडोको ब्रुमफिल्ड सहरको कटप्पा किचेनमा मनाइएको छ । मगर डेनभर समाजका अध्यक्ष गोविन्द अस्लामिको सभापतित्वमा सन्चालित उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण थापा मगरले गरेका थिए । नेपाली घरका अध्यक्ष लछुमन राना प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उपसभापती टेक थापाले आगन्तुक पाहुनालाई स्वागत गर्दै आफ्नो मन्तव्य दिएका थिए । माघे सङ्क्रान्ति पर्वको बारेमा अन्य मन्तव्य दिनेहरूमा नेपाली घरका अध्यक्ष लछुमन राना, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ र ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोका अध्यक्ष सोम बराल थिए ।

करिब १२० जना सहभागी रहेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बब्बु थापा र शिला थापाको नृत्य निर्देशन रहेको उक्त कार्यक्रममा सरु, नमिता, सालीना, अभ्यास र अनिशाले नृत्य प्रस्तुत गरेका थिए भने पप गायिका शशि रावल, लोक दोहोरी गायक रुपेश बराल र गायक वसन्त लम्सालले गीत गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रममा मगर समाजको कौरा नाच, झ्याउरे नाच, मगर भाषाको गीत पनि प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रम ७६ वर्षीय दुक बहादुर थापालाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सिनियर सम्मान गरिएको थियो भने नारायण थापा मगरलाई कलेज ग्र्याजुएसन सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथि लछुमन रानाको हातबाट सम्पूर्ण कलाकारहरुलाइ प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सेल रोटी, बारा, तरुल लगायत अन्य खाना अतिथिहरूलाई खुवाएको थियो ।

कार्यक्रमबाट उठेको दुई हजार एक सय डलर नेपालमा महाबिर पुनलाइ सहयोग गर्ने जानकारी समाजले बिआरटिनेपाललाई दिएको छ ।

मगर समुदायले माघ एकलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने चलन छ । विशेष गरी नदी तथा ताल तलाउमा स्नान गरी मन्दिरमा पूजाआजा गर्नुका साथै परिवार तथा आफन्त भेला भई घिउ, चाकु, तरुल, सखरखण्ड, खिचडी लगायतका परिकार खाने चलन छ । माघ १ गते देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुने खगोलशास्त्रीहरुको भनाई छ । माघे सङ्क्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू