अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

स्वागत छ नयाँ रुमानी वर्षलाई

आचार्य प्रभा २०७६ माघ १ गते ९:२८ मा प्रकाशित

हरेक पालुवाहरू फेरिन्छन्
नयाँ जीवन लिएर
र …………….पुरानाहरू
ओझेल बन्छन् आफ्ना अस्तित्वलाई
नेपथ्यमा धकेलेर,
हो यसरी नै समयले पनि
नयाँ पालुवा फेर्दछन्
पुराना समयका पानाहरूलाई
नेपथ्यमा कैद गरेर
उस्का अतीतका तिता/मिठा क्षणहरूलाई
आफ्नो नयाँ पल्लाले बेह्रेर।
यो रित हो सांसारिक
नयाँ आउनु,पुरानो जानु
अर्थात् नयाँ बस्तुको स्वागत गर्नु
पुरानालाई बिदा दिनु
हर प्राणी,हर बस्तुमा प्रकृतिले
चलाएको नियम हो
नौलो अनुभूत गर्नु,नौलो आयाम बटुल्नु
त्यसैले ………यही नियममा हामी पनि
बाँधिएका छौँ,
समयलाई नयाँ क्यालेन्डरमा सजाउन
र ……हामी फेर्दैछौँ भित्ताको
क्यालेन्डरका समयहरू नयाँ अङ्कहरूमा
नौलो जोस र उमंगकोसाथ
“ह्याप्पी न्यु ईयर २०२०”भन्दै
पुराना समयका विकृत घट्नाहरुलाई
नयाँ रुमानी रङ्गले छोपेर
अझ हौसला र उत्साहले बाँच्ने
अभीप्शा पालेर पर्खंदैछौँ
नयाँ क्षितिजको सुनौलो सप्तरङ्गी रङ्ग
आफ्नो जीवनमा फेरि हर्षोल्लासले रंग्याउन
र ……..अन्त्यमा चढाउँदै
शुभकामना नयाँ वर्षको।