अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

कविता प्रतियोगिता बारे सूचना

बिआरटीनेपाल २०७६ माघ १ गते ९:२४ मा प्रकाशित

देश विदेशमा छरिएर रहनु भएका नेपाली साहित्यका कविता प्रेमीहरूलाई यता हाम्रो संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट हार्दिक निम्तो छ है ! कविता पठाउनुस् ,सर्वाधिक धनराशिको पुरस्कार घरमा बसी बसी जित्नुहोस् । शुभ पल।

सूचना – “विश्वव्यापी नेपाली कविता प्रतियोगिता २०७६ ।

कविता प्रतियोगिताका नियमहरू :-

१ , प्रतियोगितामा सहभागी हुन चाहनुहुने कविज्यूहरूले पठाउने कविता नितान्त मौलिक हुनु पर्नेछ । कविज्यूहरूले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेल sahityapratishthan@gmail.com मा आगामी फाल्गुन १ गतेभित्र पठाई सक्नु पर्नेछ । ( इमेल बाहेक अन्य माध्यमबाट प्राप्त कवितालाई मान्यता दिइनेछैन )

२ , गद्य कविताको शब्द सीमा अधिकतम एक सय पचास (१५०) र पद्य कविता बढीमा पाँच श्लोकको हुनुपर्नेछ । सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन ।

३ , कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल गर्ने विचार र अश्लील शब्दहरूको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतः अस्वीकृत हुनेछन् ।

४ , कविताको विषयवस्तु र स्वरूप बारे कविज्यूहरू स्वतन्त्र रहनुहुनेछ ।

५ , अङ्ग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले प्रतियोगितामा प्रवेश पाउनेछन् तर उक्त कविताहरूका अनूदित नेपाली रूपान्तरण पनि साथमै संलग्न हुनु पर्नेछ ।

६ , कविता युनिकोडमा मात्र पठाउनु पर्नेछ ।

७ , कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ । विजयी रचनामा यस प्रकारको दाबी विरोध भई आएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको अर्को कवितालाई विजयी मानिनेछ ।

८ , एक जना प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचित गरिन्छ । एउटै कविज्यूको एकभन्दा बढी कविता सहभागिताको लागि आएमा अन्तिममा प्राप्त भएको कवितालाई मात्र प्रतियोगी कविता मानिनेछ ।

९ , प्राप्त भएका प्रतियोगी कविताहरूलाई आन्तरिक समितिले उच्च गोपनीयताका साथ कविज्यूहरूका सम्पूर्ण परिचय हटाएर कोड सिस्टममा राखी मूल्याङ्कनको लागि निर्णायक समितिमा पठाइने छ । यसर्थ निर्णायक ज्यूहरूलाई पनि कोड मात्रै थाह हुने र कविज्यूहरूबारे जानकारी नहुने बनाइनेछ ।

१०, यस सगरमाथा साहित्य प्रतिष्ठान सम्बद्ध व्यक्ति बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी कविज्यूहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनुहुनेछ।

११ , यो प्रतियोगिताको विजयी कवि केवल एक जना हुनुहुनेछ । सर्वोउकृष्टताको आधारमा सर्वोत्कृष्ट हुनुहुने एक जना कविज्यूलाई पचपन्न हजार पाँच सय पचपन्न (५५,५५५) रुपैयाँ नगद सहित प्रमाणपत्र नेपालमा यथाशीघ्र कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।

१२, प्रतियोगितामा उत्कृष्ट हुनुहुने दश (१०) कविज्यूहरूलाई प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

१३, प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आन्तरिक छनौट समितिको रहने छ ।

१४, प्रतियोगितामा उत्कृष्ट हुनुभएका दश कविज्यूहरूका कविताहरूका साथमा विश्वभरि छरिएर रहनुभएका नेपाली काव्य साहित्यमा कलम चलाउँदै आउनु भएका कविज्यूहरूका कविताहरू सहित एकाउन्न कविज्यूहरूका कविताहरू समावेश गरी सगरमाथा साहित्य प्रतिष्ठानले कविता कृति निकाल्ने छ ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल

विवेक दुलाल क्षेत्री ” दमक ”
संरक्षक – सगरमाथा साहित्य प्रतिष्ठान नेपाल।

प्रतिक्रिया