अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 17:21

मकर (माघे) सङ्क्रान्ति महत्त्व र विशेषता

ज्योतिष पण्डित राजेन्द्र खनाल २०७६ माघ १ गते ९:१९ मा प्रकाशित

आज माघे सक्रन्ती अर्थात् यसलाई माघी पर्व पनि भनिन्छ । माघ महिनाको पहिलो दिन हो आज, आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । यसै कारण यसलाई मकर सक्रान्ती पनि भनिन्छ ।

यसको धार्मिक र पौराणिक महत्त्व पनि उत्तिकै छ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष बाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदीहरू अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड हुन्छ । आजकै दिन इन्डिया तथा नेपालका विभिन्न तीर्थस्थलहरू देवघाट, सुनसरिको चतरा, अर्घाखाँची तथा गुल्मीको रिडी-काली गण्डकीको किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बाग्मती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो हुन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जन विश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पुराणमा उल्लेख गरिएको पाइन्छ ।

मधेसमा भने मैथिली र थारुसमुदायहरुले आज बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन येले दुंगंका रूपमा लगभग नयाँ वर्ष जस्तै मनाइन्छ । आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाउँदै रमाइलो गर्दै भोज खाने र जाग्राम बस्ने चलन छ । आनन्दी नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि ‘निसराउ’ अर्थात् उपहारहरू दिएर पठाउने चलन पनि छ ।

नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको मानिन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूले राष्ट्रिय पर्वका रूपमा मान्यता दिएका छन् । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । बन तरुलबिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट बन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात बन तरुल खाने गर्दछन् । घरका पुरुषहरूले धनुषबाँडले तारो हान्दै यो पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फ्ल्याकमा अँगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई “बासी आन्द्रा पाई कि नपाई” भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटा केटाहरूलाई खानेकुरा दिन्छन् र केटाकेटीहरू रमाउँदै घरघरमा जाने परम्परा छ ।

तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रूपमा यसलाई आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइन्छ । हाम्रो हिन्दु संस्कारमा तिलको विशेष महत्त्व रहेको छ, पूजाआजा, होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा या दान गर्दा होस् या कुनै पितृ कर्ममा तिलको आवश्यकता पर्दछ । आजको दिन तिलको पक्वान्न तथा परिकारका लागि प्रसिद्ध छ, तिललाई भुटेर सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार मानिन्छ, त्यसै कारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।

सूर्य र पृथ्वीको दिशालाई उत्तरी र दक्षिणी ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दै छ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै गृष्म बढ्दै जाने मान्यता छ ।यससँगै उत्तरायणमा विभिन्न पूजाआजा तथा संस्कारका कर्महरू गर्नलाई पनि शुभ साइत मानिन्छ । आजको दिन अयन परिवर्तनको दिन हो । अयन दुई बटा हुन्छन् – उत्तरायण र दक्षिणायन ।

सूर्य उत्तरतर्फ सर्दै जाने भएकोले यसलाई उत्तरायण भनिएको हो । माघ १ देखि आषाढ मसान्तसम्मलाई उत्तरायण भनिन्छ । यस अवधिमा ३ ऋृतुहरु फेरिन्छन् – शिशिर, वसन्त र गृष्म ।

१२ महिना, ६ वटा ऋृतुहरु अनि १२ मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् ।

आजको दिन घरमा विभिन्न प्रकारका परिकारहरू जस्तै: घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु, खिचडी ( मास र चामललाई मर मसला हाली बनाइएको खजाना यसलाई खित्रो पनि भनिन्छ ) र तरुल, सख्खर खण्ड, पिँडालु आदि खाने र खुवाउने गरिन्छ ।

जाडोको समयको यो न्यानो चाड माघे सङ्क्रान्तिमा बिहान सबेरै उठी नजिकको तीर्थस्थल नदी, समुद्र, तलाउ आदिमा गई नुहाई धुवाई गरेर, चोखो कपडा लगाएर, ब्राह्मण ज्वाईँचेली, भान्जा भान्जी आदिलाई घरमा बोलाई दान दक्षिणा दिनुको साथै कतिपय घरमा आजको दिन रुद्री तथा सत्यनारायण भगवानको पूजा लगाउने कार्य पनि गरिन्छ र यी सबै परिकारहरू खुवाउने र खाने गरिन्छ । यी परिकारहरू खानाले जाडोलाई सजिलैसँग पचाउन सकिन्छ भन्ने मान्यता पनि रही आएको छ ।

यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदिबाट पनि मुक्ति मिल्ने जन विश्वास छ । स्वदेश तथा विदेशमा बस्नु हुने सबैलाई मिठो खाने र सबैको भलो चिताउने यस पर्व माघीको धेरै धेरै शुभकामना !

प्रतिक्रिया