अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

चीनले छेन्दु– भैरहवा सिधा उडान गर्न सहयोग गर्ने

बिआरटीनेपाल २०७६ माघ १ गते ६:४१ मा प्रकाशित

नेपालका लागि चिनीया राजदूत होउ यान्छीले चीनको सिचुवान प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा हवाई उडान गर्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने प्रष्ट पार्नुभयो । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मुख्यमन्त्री कार्यालयमा बुधबार भएको भेटमा राजदूत यान्छीले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने प्रदेश सरकारको प्रयासमा चीनले सहयोग गर्ने बताउनुभएको हो ।

राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको भन्दै नेपाल अहिले द्रुत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनिया साथ निरन्तर हुने प्रतिवद्धता जनाउनुभयो । राजदूत यान्छीले केही महिना अघि चिनियाँ राष्टपतिको नेपाल भ्रमण र नेपालका राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको स्मरण गर्नुभयो ।

भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको भन्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताउनुभयो ।। पोखरेलले विआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारले अघि सारेको र तीमध्ये एकमा चिनिया मोडलको औद्योगिक क्षेत्र होस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू