अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

नयाँ चिनियाँ भाइरस फैलनसक्ने खतरा, विश्वभरका अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह

बिआरटीनेपाल २०७६ माघ १ गते ६:४० मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस विश्वभर फैलनसक्ने खतरा औल्याएको छ । उसले उक्त भाईरस त्यहाँ महामारीको रुपमा फैलिएको हुनसक्ने आशंका गरेको छ । कोरोनाभाइरस यस्तो प्रकारको भाइरस हो जसले सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमण गर्न सक्दछ ।

थाइल्याण्डमा नयाँ प्रकारको स्ट्रेन सहितको कोरोना भाइरस भेटिएपछि एक चिनियाँ महिलालाई त्यहाँका अधिकारीहरुले क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन्। थाइ अधिकारीका अनुसार चीनभन्दा बाहिर यसप्रकारको भाइरस भेटिएको यो पहिलो घटना हो। चीनको केन्द्रमा रहेको वुहान सहरमा ४१ जना निमोनिया भएका बिरामीको जाँच गर्दा सबैमा नयाँ प्रकारको कोरोनाभाइरस रहेको पत्ता लागेको थियो। जसमध्ये एकजनाको मृत्यु समेत भएको छ। त्यसपछि त्यहाँ कुनै नयाँ बिरामी नभेटिएको वुहानका स्वास्थ्य अधिकारीहरुले दाबी गरेका छन्।

यद्यपी विश्व स्वास्थ्य संगठनले भने यो अझै ठूलो संख्यामा फैलिएको हुनसक्ने आशंका जेनेभामा मंगलबार भएको प्रेस ब्रिफिङमा बताएको थियो। ’अहिले सुरुवाती अवस्था रहेकोले केही ठोकुवा गर्न मिल्ने स्थिति छैन,’ ब्रिफिङमा भनिएको थियो। विश्व स्वास्थ्य संगठनले संसारभरका अस्पतालहरुलाई उक्त संक्रमणका बारे जानकारी दिँदै भाइरस देखिएमा त्यसलाई फैलन नदिने उपाय अपनाउन आग्रह गरेको छ। यो नयाँ भाइरसका लागि कुनै यकिन उपचार नभएपनि एन्टीभाइरल औषधिहरुले नै काम गर्नसक्ने अनुमान गरिएको छ।

चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा सो समयमा घुम्न निस्कने चिनियाँ पर्यटकहरुबाट रोग फैलनसक्ने आशंका विश्व स्वास्थ्य संगठनले गर्दै विशेष गरेर थाइल्याण्डका अधिकारीहरुलाई उच्च सतर्कता अपनाउन सुझाएको छ। हालै वुहान भ्रमण गरेका जो कोहीलाई पनि रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्यकर्मीलाई देखाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू