अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग सम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइनेछ ।

सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहनेछन् । उनीहरुले दुईतिहाइ बहुमतबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन सक्नेछन् । यस महाभियोग प्रस्तावमाथिको समग्र प्रक्रियाको नेतृत्व अमेरिकाका प्रधानन्यायाधीशले गर्नेछन् । कानुनी प्रावधानअनुरुप नै उहाँलाई पनि यस विषयमा सहभागी गराइनेछ र त्यो प्रक्रिया यसै हप्ताबाट नै सुरु हुने पनि सिनेटका एकजना अधिकारीले जानकारी दिएका छन् ।

यसै हप्ताको बिहीबार अथवा शुक्रबारसम्ममा अमेरिकाको सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सिनेटमा हुने यससम्बन्धी महाभियोग प्रक्रियाको अध्यक्षताको शपथ लिने कार्यक्रम छ । यस महाभियोग प्रक्रियाको अध्यक्षता अमेरिकी सर्वाेच्च अदालतका प्रधानन्यायाधीशले ग्रहण गर्ने कानुनी प्रावधान रहेको छ । यसरी यो महाभियोगमा मतदान हुनुअगाडि नै केही प्रक्रियाहरु रहनेछन् ।

यसअघि, गत महिनामात्र अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको पक्षमा मतदान गरेको थियो । त्यो ट्रम्पविरुद्धका दुई महाभियोगका आरोपहरूमध्येको एउटा थियो । त्यस महाभियोग प्रस्तावमा भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो ।

डोनाल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । उक्त मुद्दा माथिल्लो सदन सिनेटमा प्रवेश गरेपछि गरिने महाभियोगको प्रस्तावमाथिको मतदानले उहाँ राष्ट्रपति रहने वा नरहने भन्नेबारेसमेत निर्णय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू