अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

ह्यारी दम्पतिको निर्णय बारे बेलायती राजपरिवारमा सामूहिक छलफल

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:४३ मा प्रकाशित

बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ ।

राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो । बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेको बुझिएको छ । ह्यारीका पिता तथा युवराज चाल्स र उहाँका भाइ विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चार्ल्स उताबाट फर्किएर बैठकमा सहभागी हुनुभएको थियो । मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उहाँलाई क्यानाडाबाटै बैठकमा सहभागिताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरुले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ ।

महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडी नै क्यानडा जानुभएको थियो । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यस्तो घोषणा गरेका थिए ।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरबार स्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गर्नुभएको थिएन । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू