अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

श्रीलङ्काका विज्ञ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा

बिआरटीनेपाल २०७६ पुष २७ गते ९:४४ मा प्रकाशित

धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा जन स्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सी.सी ग्राउन्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउन्डेसनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउन्डको काम गर्ने गरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले नेपालमा मैदानका लागी विशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको व्यक्तिसँग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्यारा फिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउन्ड रेडी गर्ने र निर्माण अवधि पछि पनि ग्राउन्ड कन्सल्टेन्टका रूपमा जोडिनेछन् ।

वार्नपुरा श्रीलङ्का टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनी झन्डै ८ वर्ष श्रीलङ्का क्रिकेट बोर्डको क्रिकेट अपरेसन डाइरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलङ्काका लागी पहिलो ओ.डी.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलो पटक श्रीलङ्कालाई जित दिलाएका थिए ।

उनले आफ्नो करियरमा १९७९ को विश्व कपमा भारत विरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलङ्काको पक्षमा जिताएका थिए । जुन श्रीलङ्काका लागी पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन यो एक एसोसिएट सदस्य राष्ट्र द्वारा श्रीलङ्काका लागी एक मात्र जित थियो, जसमा उनको नाम दर्ज छ । उनी श्रीलङ्काको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सी.सी.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रूपमा समेत उनले काम गरिसकेका छन् । हाल उनी आइसिसी अन्तर्गत को एसियाको ग्राउन्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् ।

जन स्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरिने यो रङ्गशालामा विदेशबाट ल्याइएको पहिलो स्पेशलिष्ट उनी हुन् । वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागी सम्झौता गरिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘रङ्गशाला निर्माण अन्तर्राष्ट्रिय स्तरको मात्रै होइन यो एउटा नेपालको गौरव पनि भएकाले विज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौँ’ वार्नरको विज्ञता अनुसार अभियानमा जोडिन बोलाइएको बताउँदै धुर्मुसले भने ‘अझै पनि विशेषज्ञहरू आवश्यक परेको खण्डमा नेपालमै भएका वा विज्ञहरू बाहिरबाट ल्याएर भए पनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू