अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

कीर्तिपुर रङ्गमञ्चमा ‘क्याभास एट थिएटर’ प्रदर्शनी

बिआरटीनेपाल २०७६ पुष २६ गते १०:०६ मा प्रकाशित

काठमाडौँ, २५ पुस । कीर्तिपुर रङ्गमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । रारा हिल कीर्तिपुर स्थित थिएटर मलको नाटक घर परिसरमा समकालीन कलाका युवा कलाकारहरूको सिर्जना प्रदर्शनीमा राखिएको हो ।

नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रङ्गमञ्चमा इचिङ र पेन्टिङ गरी दुई विधाका ३० चित्रहरू प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरूले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् ।

युवा कलाकारहरूले आफ्नो सिर्जनामा चेतनशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरूप स्वरूप उतारेका छन् । त्यस्तै मानवीयता, लैङ्गिकता, भूमण्डलीकरण प्रकृति, आशा र सङ्घर्षलाई रङ्गका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरूमा प्रदर्शनीमा रहेका छन् ।
प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दीक्षित सक्रिय १३ कलाकारहरूको सिर्जना राखिएको छ । कलाकारहरू उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीप माला महर्जन, नारायणप्रसाद बोहजु, भीषण राजभण्डारी, मनीषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो ।

सहभागी कलाकारहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरू आफै पृथक् र एक अर्काका परिपूरक रहेको औँल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेका हुन् ।
प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरूको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कला नगरीको रूपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे ।

प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरूको ‘हामी बोल्छौँ’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रङ्गकर्मीहरू मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन सङ्ग्रौला, रोशन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शङ्कर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए ।

थिएटर, कलाका विविध माध्यमहरूको सङ्गम रहेको बताउँदै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे ।

प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू