अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित नपारौँ –पूर्वराजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:१९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धास्मरण गर्दै सबै नेपालीहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु नहुने पनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र शान्त अविभाज्य र अखण्ड रहनुपर्छ,’ शाहले शुभकामना दिँदै भन्नुभएको छ, ‘देशका सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनैपर्दछ।’

शाहले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै भएको उल्लेख गर्दै सत्य कहिल्यै नहार्ने र स्वाभिमान कहिल्यै नमर्ने पनि विज्ञप्तिमार्फत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू