अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

इरानले चार अमेरिकी दूतावासलाई निशाना बनाउने देखिएकाले सुलेमानीमाथि आक्रमणः ट्रम्प

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:१८ मा प्रकाशित

इरानले अमेरिकाका चार दूतावासमा आक्रमण गर्ने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको छ । इरानका उच्च सैन्य कमाण्डर काशिम सुलेमानीले अमेरिकाका चार दूतावासलाई निशाना बनाउने योजना बनाएको थाहा पाएपछि उनलाई लक्षित गरी हवाई आक्रमण गरिएको ट्रम्पले दावी गर्नुभयो ।

इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल सुलेमानीको गएको हप्ताको शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकाले गरेको हवाई आक्रमणमा मृत्यु भएको थियो । उनको मृत्युपछि अमेरिका र इरानबिचको सम्बन्धमा गम्भीर तनावको अवस्था आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा इरानले चार दूतावासमा आक्रमणको तयारी गरेको थाहा पाएकाले गएको हप्ताको शुक्रबार सुलेमानीमाथि आक्रमण गरिएको स्पष्ट पार्नुभयो ।

सुलेमानीमाथि हवाई आक्रमण हुनु केही दिनअघि इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शन भएको थियो । ट्रम्पले दूतावासलाई निशाना बनाएको दाबी गरे पनि डेमोक्र्याटलाई गुप्तचर निकायले दिएको ब्रिफिङ्गमा दूतावासमा आक्रमण हुने खालको कुनै सूचना वा जानकारी नरहेको उल्लेख छ ।

ट्रम्पले आफ्नो निर्देशनमा भएको हवाई आक्रमणको कारण अमेरिकी दूतावासमाथि हुन सक्ने सम्भावित आक्रमण रहेको बारम्बार बताउँदै आउनुभएको छ । उहाँले गएको बिहीबार ह्वाइट हाउसमा यो दाबी गर्नुभएको थियो । त्यसपछि सोही बेलुका ओहाओमा भएको चुनावी सभामा पनि सो दाबी गर्नुभयो ।

राष्ट्रपति ट्रम्पको भनाईमा विदेश मन्त्री माइक पोम्पेओले पनि समर्थन गर्नुभएको छ । अमेरिकामाथि गम्भीर चुनौती हुने देखिएपछि आक्रमण गरिएको उहाको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू