अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

नवीनतम साहित्य विधा साइनो सम्बन्धी अलिकति कुरा

सुरेन्द्र शाही "गुलाब कान्छो" २०७६ पुष २५ गते २३:२७ मा प्रकाशित

१. साइनोको परिचय

साइनो शुद्ध नेपाली शब्द हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द साइनु नै साइनो हो । साइनोले एकार्काको नाता सम्बन्ध र मित्रतालाई इङ्गित गर्छ । आफन्तसँगको सम्बन्ध, मित्रतासँगको सम्बन्ध घरपरिवार बिचको सम्बन्ध, घरपरिवार र समाजको सम्बन्ध, समाज-राष्ट्रको सम्बन्ध, एक राष्ट्रको अर्को राष्ट्रसँगको सम्बन्ध, आकाश र धर्तीको सम्बन्ध, ग्रह र उप-ग्रहको सम्बन्ध समग्रमा ब्रह्माण्डसँगको सम्बन्धले नै संसार जडिएको छ र साइनोमा अल्झिएको छ । साइनो आफैमा स्वतन्त्र र लोकप्रिय शब्द हो जसले एक अर्का प्रतिको नाता सम्बन्ध र मित्रतालाई जनाउँछ । सामान्यतया साइनोले एक ब्यक्ति र व्यक्ति बिचको नाता सम्बन्ध जे छ त्यही नै साइनो भनेर बुझाउँछ । जस्तै: आमाबाबुसँग छोराछोरीको साइनो, साथीहरूबिच मित्रताको साइनो, आमाको दाइभाइसंग पर्ने मामा भान्जको साइनो आदि जस्ता सम्बन्धलाई नै नाता सम्बन्ध र साइनो भनिन्छ ।

तर यहाँ भने साहित्य विधाको नयाँ संरचना साइनोको चर्चा गर्न गैरहेको छु । विश्व साहित्य जगतमा जन्मिएका कथा, कविता, निबन्ध, नाटक, उपन्यास जस्ता चर्चित धेरै साहित्य विधाका थुप्रै उपविधाहरु भए पनि नेपालमा मात्रै भर्खरै उत्पादित गद्य कविताको अर्को विधा भनौ या उप विधा हो साइनो । साइनो मुलत सात, आठ र नौ (७-८-९) अक्षरीय तीन हरफमा लेखिने गद्य कविता हो । यसमा तिन वटै हरफले स्वतन्त्र र अलग-अलग अर्थ दिन्छन् र समग्र तीन हरफको एक सुन्दर र सुगठित पुष्प गुच्छा जस्तै अनुच्छेद (गुच्छा) बन्छ जसको अर्थ बृहतलाग्छ । जस्तो: गुलाफको फूल, कमलको फूल र सयपत्री फूलका एक-एक थुँगा फूललाई एकै गुच्छामा राख्यौँ भने कति सुन्दर देखिन्छ र समग्रमा फूलको सौन्दर्यता र छुट्टै परिभाषा पाउन सकिन्छ । त्यस्तै साइनोका तीन हरफबाट पाइने भाव एउटै माला गाँसिए भने यसको भाव र अर्थ निकै गहन र चोटिलो बन्दछ । कुनै एक गरिब मान्छेलाई तँ साह्रै गरिब छस् गरेर खाने होइनस् भन्नुमा र तपाई गरिबै भए पनि तपाइका यी पौरख चलाउनु भयो भने बिहान बेलुका हातमुख जोड्न सजिलो हुन्छ भन्दा कति फरक पर्छ । हो त्यस्तै साइनोले कुनै पनि समाजमा भएका सामाजिक संस्कार, आर्थिक, राजनीतिक, व्यापारिक, वातावरणमा भए गरेका घटना समग्रमा सकारात्मक र नकारात्मक दुवै पक्षलाई सिधै भन्दा पनि साहित्यिक रूपमा गहन र ओजस्वी भावमा ब्यंग्यात्मकताबाट केही कुरा पस्किनु र मानवको मनमस्तिष्कलाई तरङ्गित गरी मन मुटुलाई हलचलमा ल्याउनु र यसको भनाइ ठिक हो भनेर महसुस गराउनु साइनोको मुख्य ध्येय हो ।

२.साइनोको उत्पत्ति
२०७६/०४/१६ गते (०१ अगस्ट २०१९)मा

मान्छे छैन इमानी
न सहरमा छ धन
न त झुपडीमा पिसानी ।

भन्ने पहिलो साइनो सामाजिक सञ्जाल फेसबुक मार्फत बाल साहित्यका धरोहर प्राध्यापक छायादत्त न्यौपाने “बगर” ले प्रकाशन गरेपछि साइनोको उत्पत्ति भएको देखिन्छ । साहित्यको नयाँ विधा साइनो उत्पत्तिको श्रेयपनी वहाँलाई नै जान्छ । त्यसपछि साइनोले थुप्रैको ध्यान आफूतिर केन्द्रित गराएको छ । साइनो नेपाली साहित्य जगतकै माटोमा र नेपाली मौलिकतामा उत्पत्ति भएको हुनाले यसलाई साइनो नाम दिएको हो । साइनोबारे आ-आफ्ना बिचार विमर्श, तर्कबितर्क गर्दै, एक आपसमा छलफल गर्दै साइनो लेखनलाई निरन्तर अघि बढाइएको छ । थोरै समयमा साइनोले नेपाली साहित्य क्षेत्रमा जरा गाडी सकेको छ । विदेशमा रही नेपाली साहित्यलाई माया गर्ने साहित्यकार, सर्जकहरुलेपनि साइनोलाई लेख्दै आउनु भएको छ । नेपालमापनि पूर्व मेचीदेखि पश्चिम महाकालीबाट साहित्यकारहरूले साइनोलाई चासो दिँदै र लेख्दै क्रमशः साइनोमा साङ्ग्लिने क्रम बढ्दो गतिमा छ ।

गर्भावस्थाको साइनोले यति छिटो गति लिनु भनेको नेपाली साहित्य माटोलाई थप ऊर्जाशील बनाउनु हो । यही गतिमा साइनो साहित्य झाँगिँदै गयो भने विश्व साहित्यमाझँ आफ्नो पहिचानसँग सङ्गै नेपाली साहित्यलाई पनि चिनाउन सफल हुनेछ । मलाई लाग्छ हिरा खोज्ने कुरा सोचेर मात्र हुँदैन हिरा टिप्न त समुद्रको गहिरामा गएर समुद्रको सतह खोतल्नु पर्छ अनि पो बहुमूल्य त्यो हिरा भेटाउन सकिन्छ त्यो पनि कमै मात्रमा । साइनो पनि नेपाली साहित्य जगतको बहुमूल्य हिरा नै हो जसलाई नेपाली मुलमै जन्माउन पाइएको छ, उम्रार्न मिलेको छ । जसले नेपालको मौलिकता झल्काउँछ र निकट भविष्यमा साइनो साहित्य मार्फत नेपाललाई विश्व सामु चिनाउने छ अवसर पाउने छ । यो साइनो साहित्यको यात्राले विश्व भ्रमण गर्ने छ ।

टेलिभिजन र विभिन्न राष्ट्रिय अनलाइन मिडिया तथा पत्रपत्रिकामा समेत धेरै साइनोकारका साइनोबारे जानकारी सहित साइनोहरू प्रकाशित र प्रकाशन भइसकेका छन्, भने विभिन्न साहित्यिक कार्यक्रममापनि साइनो वाचन भइसकेका छन् ।

यसका साथै साइनोकारहरूले आ-आफ्नो फेसबुक मार्फत पनि साइनो प्रकाशन गर्दै आइरहनु भएको छ । साइनोलाई अझै व्यवस्थित, सुगठित र बुलन्द गरी लैजाने दृढ-संकल्पकासाथ साइनोकारहरूको बृहत् छलफल पश्चात् सामाजिक सञ्जाल फेसबुक (अनुहार किताब)मा साइनो मञ्च निर्माण गरी साइनोबारे जानकारीका साथै साइनोकारहरूका साइनो प्रकाशन गर्दै आइरहेको छ ।

३. साइनो कसरी लेख्ने ?
सात, आठ र नौ अक्षरमा लेखिने साइनो चौबिस अक्षरीय सुन्दर र सानो साहित्य माला हो । साइनोका यी चौबिस अक्षरले वर्णनात्मक, भावनात्मक, व्यङ्ग्यात्मक जस्ता फरक-फरक तरिकाले सर्जक र पाठकलाई नयाँ रस्वादन प्रदान गर्दछ । यो कुनै यात्रामा हुँदा हिँड्दा हिँड्दै, फुर्सदको समयमा, बसेको समयमा, कसैसँग कुरा गरिरहेको समयमा यता जुनसुकै समयमा यसलाई लेख्न सकिन्छ । साइनो लेखनका लागि लामो समय पनि खर्चिरहनु पर्दैन । साइनो लेख्दा जति साहित्यिक शब्दलाई खेलाउन र केलाउन सक्यो त्यति नै सशक्त, सुगठित, कर्णप्रिय, मार्मिक र गहन भावको हुनुकासाथै वास्तविक साइनो बन्दछ । साइनो लेख्दा कुनै व्यक्तिलाई चोट पुर्‍याउने र समाजलाई नपच्ने अपशब्दको प्रयोगगरि लेखियो भने त्यसलाई साइनो भन्न र मान्न सकिँदैन । साइनो जुनसुकै कोणबाट लेखिया तापनि सन्देशमूलक र सान्दर्भिक हुन आवश्यक छ । साइनोको अन्त्यमा शब्दको भाव अनुसार प्रश्न वाचक(?), पूर्णविराम(।) र विस्मयादिबोधक(!) चिन्ह राख्न सकिन्छ । साइनोको सूत्र भनेकै सात, आठ र नौ अक्षरको तीन पङ्क्तिमा लेखिने र तिनै पङ्क्तिको एक गुच्छा बनाउनु हो । साइनोमा आधा अक्षर, शिरविन्दु, चन्द्रविन्दु, ऋकार र हलन्त भएका शब्द पनि राख्न सकिन्छ तर यिनको गणना भने हुँदैन । जस्तो:

भयौँ भन्थे एकीकृत्-७ अक्षर
सिद्धान्त माक्र्सवादको-८ अक्षर
बेहाल छ गणतन्त्रको ।-९ अक्षर
यो साइनोमा चन्द्रविन्दु, आधा अक्षर, ऋ लागेको र हलन्त अक्षर सबै छन् तर तिनलाई गणना गरिएको छैन ।

हेरौँ केही साइनोहरु:
१.
कति बेच्छौ सिमाना ?
मुकुन्डो खोल भ्रष्टको
रोज लौ समृद्धिको बाटो ।

२.
छिमेकी त चिन्दैन
धनको यो बुर्कुसीले
कहाँ छ खै त्यो मानवता ?

३.
हिमालमा चाँदनी !
पहाडमा हिरा मणि !!
तराईमा फल्छ नि सुन !!!

४.
रुवाएर किसान
बन्यौ है उद्योगपति
हतियार बन्नेछ आँसु ।

५.
बनायो मन्त्रमुग्ध !
यतै गिद्धको नजर !!
हिराको टुक्रा मेरो देश !!!

६.
अस्थिपञ्जर मान्छे
केही दिनको पाहुना
विलीन हुने हो माटोमा ।

७.
ज्वती शिक्षाको छरी !
गर्नु छ रूपान्तरण !!
दूर-दराजको बस्ती त्यो !!!

८.
पहिचान छ बेग्लै
रातो र चन्द्रशुर्यमा
फहरायो नेपाली झन्डा ।

१०.
कलिलो छ बिरुवा !
ओकल्छ बिस त्यो फूल !!
सुन्दर भएर के गर्नु ?

११.
हेमन्त तान्छ वर्षा !
उसैको कब्जामा मुटु !!
शरीरकै निम्तोमा राडी !!!

१२.
भत्काउनु छ बाँध
आडम्बरी धनको त्यो
फूल फुल्ने छ समताको ।

१३.
पहाड भयो तिल !
जिउन भयो मुस्किल !!
भएँ बाटो मुनिको फूल !!!

१४.
चेस बोर्ड एउटै !
बेग्लै हात्तीको लम्काइ !!
अनेक छ गोटीको चाल !!!

१५.
रातै मेरो रगत !
तल्लो जातको रे म त !!
पानी चल्दैन, चल्छ श्रम !!!

+++++++++++++++++
महाराजगन्ज, काठमाडौँ

प्रतिक्रिया