अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

गण्डकी प्रदेशमा माघे संक्रान्तिको सार्वजनिक बिदा

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३४ मा प्रकाशित

गण्डकी प्रदेशमा माघे संक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताउनुभयो । बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कर्मचारीको पदस्थापन तथा सरुवा सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिनेलगायतका निर्णय गरेको बस्नेतले बताउनुभयो ।

मन्त्रीपरिषद्ले गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू