अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

नेकपाका अध्यक्ष र उपसभामुख तुम्वाहाम्फेबीच भेट, आइतबार संसदको कारबाही अघि बढ्ने

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३० मा प्रकाशित

नेकपाभित्र सभामुख चयनको विषय पेचिलो बनिरहेका बेला उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । दुई अध्यक्षसँग समय लिएर शुक्रबार बिहान बालुवाटार पुग्नुभएका उपसभामुख तुम्बाहाम्फेले संसदको कारबाही अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो ।

नेकपाभित्र सभामुख पद पूर्वएमाले पक्षले पाउने कि पूर्वमाओवादीले पाउने भन्ने विषयमा विवाद भइरहेका बेला आइतबारका लागि बोलाइएको बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा उपसभामुख तुम्बाहाम्फेले प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्डसंग छलफल गर्नुभएको हो । छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले आइतबारका लागि बोलाइएको बैठकको कारबाही अघि बढ्ने बताउनुभयो ।

पार्टी एकतापूर्व भएको शक्ति बाँडफाड अनुसार सभामुख पद पूर्वमाओवादी पक्षले पाउनु पर्ने अडानमा प्रचण्ड हुनुहुन्छ भने प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा उभिनुभएको छ । पूर्वमाओवादीले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा उभ्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउन दबाब दिएको नेकपा नेताहरुको भनाइ छ।

उपसभामुखसँगको छलफलपछि दुई अध्यक्षबीच छुट्टै सभामुखको उम्मेद्वार चयनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपाभित्र सभामुखको उम्मेद्वार चयन हुन नसक्दा पुस ४ गते सुरु भएको संसद अधिवेशन अघि बढ्न सकेको छैन। यसअघि पुस ११ र १६ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू