अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

पश्चिम एशियामा तनाव नबढाउन नेपालको आह्वान

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:४३ मा प्रकाशित

नेपालले खाडी क्षेत्रमा देखिएको तनाबमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार विज्ञप्ति निकाली पश्चिम एशियामा उत्पन्न भएको तनावप्रति चिन्ता व्यक्त गरेको हो । त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली आप्रवासीहरु कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षा आफ्नो प्राथमिकताको विषय रहेको नेपालले प्रष्ट पारेको हो ।

‘हामी सबै पक्षलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं ।’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । प्रचलनमा रहेको मध्यपूर्व भन्ने शब्दावलीको साटो पश्चिम एशिया क्षेत्र भन्दै जारी विज्ञप्तिमा सबै विवाद र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको उल्लेख छ ।

इरानका शक्तिशाली सैन्य अधिकृत कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी मारेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ । जवाफमा इरानले पनि इराकस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।

यसैगरी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरकारी उच्च अधिकारीहरु सम्मिलित बैठकले पश्चिम एशिया क्षेत्रमा रहेका नेपालीको जोखिमलाई नजिकबाट नियाल्ने र सुरक्षाका लागि समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, परराष्ट्र, गृह, श्रम, अर्थ, सञ्चार, संस्कृति पर्यटन मन्त्रालयका प्रतिनिधिहरु, नेपाली सेनालगायत निकायका अधिकारीहरुबीच भएको छलफलमा उक्त कार्यालयका प्रतिनिधिहरु संलग्न रहने गरी समिति बनाउने निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू