अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

मन्त्री नेतृत्वको र्‍याली सिड्नी प्रहरीद्वारा रोकियो

बिआरटीनेपाल २०७६ पुष २२ गते १३:२७ मा प्रकाशित

सिड्नी । सिड्नी स्थिति सुरक्षा अधिकारीले भिजिट नेपाल २०२० को प्रचार प्रसार र्‍याली रोकिदिएको छ । आयोजकसँग र्‍याली आयोजना गर्ने अनुमति नभएकाले सुरक्षा अधिकारीले त्यसलाई रोकिदिएको बुझिएको छ । र्‍याली अस्ट्रेलिया भ्रमणमा रहेका पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा भएको थियो । त्यसमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुल जनरल दीपक खड्का र कन्सुल जनरल भिक्टोरिया चन्द्र योञ्जन लगायतका अधिकारीहरूको सहभागिता थियो ।

स्थानीय प्रहरीले र्‍याली भइरहेको स्थलमा पुगेर ठाडो भाषामा त्यसलाई रोक्न भनेको थियो । प्रहरीले कार्यक्रम ‘प्रवर्द्धनात्मक तथा व्यापारिक’ भएको, ‘राइट टु प्रोटेस्ट सम्बन्धी कानुनी व्यवस्था पालना नभएको’ सहितका कारण देखाउँदै र्‍याली रोकेको हो । त्यसबाहेक सहभागीले बाटो कब्जा गर्ने र छेक्ने हुनाले पनि र्‍याली रोकिएको अनुमान गरिएको छ ।

एनआरएन अस्ट्रेलियाका पूर्व कोषाध्यक्षलाई आयोजकले सम्बन्धित निकायबाट र्‍याली आयोजना गर्ने अनुमति लिने जिम्मा दिएका थिए । उनले आयोजकलाई अनुमति प्राप्तिको आवेदन अस्वीकृत भएको जानकारी दिएको दाबी गरेका छन् । र्‍याली बिथोलिएपछि सहभागी आक्रोशित बनेका छन् ।

क्यान्बेरास्थित नेपाली दूतावासले त्यहाँ कुनै र्‍याली नभएको दाबी गरेको छ । दूतावासकी काउन्सिलर अधिकारी दुरापदा सापकोटाले ‘र्‍याली आयोजना गर्ने कार्यक्रम नै नभएको’ दाबी गरेकी छन् । ‘हामीले औपचारिक रूपमा कार्यक्रम सकेर शान्तिपूर्वक सिड्नी ओपेरा हाउसतर्फ जाने निर्णय गरेका थियौँ,’ उनको दाबी छ । उनले सुरक्षा अधिकारीले सहभागीको सङ्ख्याबारे मात्र सोधेको दाबी गरेकी छन् । त्यसपछि सहभागीहरू आ-आफ्नो बाटो लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू