अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

तीनै तहका सरकारले संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ – मुख्यमन्त्री राई

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:३४ मा प्रकाशित

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

‘साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ,’ उहाँको भनाई थियो । मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने अठोट पनि जनाउनु भयो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संविधान निर्दिष्ट अधिकार कतैबाट कटौती हुन नहुने चर्चा गर्दै स्वास्थ्य, माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई नै भएको बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताको सरकार स्थानीय निकाय भएको चर्चा गर्दै यसको सफल सञ्चालनबाट प्रदेश सरकारको सफलता जोडिएको बताउनु भयो ।

नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्याञ्जूले संविधानको भावना अनुसार सङ्घीयतालाई सफल कार्यान्वयन गर्न स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घ, प्रदेश र स्थानीय निकायको बीच आपसी समन्वयवाट दिगो विकासको लक्ष्य पूरा हुने धारणा व्यक्त गर्नुभयो । सहभागी नगरपालिकाका प्रमुख र उपप्रमुखले पूर्वाधार बाँडफाँटमा समस्या आएको, १५ शैय्या अस्पतालमा चिकित्सक दरबन्दीमा छलफल नभएको, ढुङगागुट्टीको मूल्य प्रदेश सरकारले तोक्ने गरेको, मध्यावधिक समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू