अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 07:19

प्रदेश–३ को राजधानी हेटौंडा राख्न सत्तारुढ नेकपाको सांसद्हरुलाई पुनः निर्देशन

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:१९ मा प्रकाशित

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न नेकपाले पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर नेकपा शीर्ष नेताहरुले पुनः निर्देशन दिएका हुन् ।

प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले नेताहरुले पुनः निर्देशन दिएको बताउनुभएको छ । सचिवालयको निर्देशनबाट असन्तुष्ट प्रदेश–३ का सांसदहरुको टोलीले काठमाडौंमा टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलसँग छलफल गरेको थियो।

नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए । हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका थिए । मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं जानुभएको थियो ।

नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं पुगेको थियो।

नेकपा केन्द्रीय सचिवालले प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि प्रदेश संसदीय दलमा विवाद भएको थियो। विवादका कारण तीन दिनसम्म चलेको दलको बैठक अनिर्णित बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू