अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

निलम्बन गरिएका विधानका धारा फुकुवा गर्नुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको माग

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:१९ मा प्रकाशित

कांग्रेसका जिल्ला सभापतिहरुले बहुमतबाट केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रयोजनका लागि निलम्बन गरेका धारा फुकुवा गर्नु पर्ने माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु जिल्ला सभापतिहरुको भेलामा मंगलबार बोल्ने सभापतिहरुले पार्टीको १४ औं महाधिवेशनको मिति यथावत राखेर तल्ला अधिवेशनको मिति फेरवदल गर्नसमेत माग गरेका हुन् ।

कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीका अनुसार मंगलबार बोल्ने सभापतिहरुको विधानका धारा निलम्बन गर्ने निर्णय फुकुवा गर्नु पर्नेमा एउटै स्वर रहेको छ । १४ औं महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको कार्यतालिकामा फेरबदल गर्नुपर्छ भन्ने सबैको भनाइ रहेको उहाँले जानकारी दिनुभयो ।

संस्थापनले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिकासहित मिति तय, विधानका धारा निलम्बन, विभागको संख्या बढाउने तथा भ्रातृसस्था तरुणदलको म्याद ६ महिना थप गर्ने निर्णय गरेपछि नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट बनेको थियो। असन्तुष्ट नेता पौडेलले आफू निकटका जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको हो ।

भेलामा सहभागी सभापतिहरुले विधानको व्यवस्था र मर्म अनुरुप नेतृत्वले काम गर्नु पर्ने बताएका छन् । सभापतिहरुले भ्रातृसंस्था नेपाल विद्यार्थी संघको निर्वाचन आयोजक समिति बनाउँदा विधानको व्यवस्था बमोजिम नेतृत्व ३२ वर्षे उमेरहद राखेर नियुक्त गर्नुपर्ने बताएका छन्। मंगलबार १५ सभापतिले धारणा राखेको र भेला बुधबार पनि चल्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू