अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

छाउगोठ भत्काउने अभियान केही दिनमा पूरा हुने सरकारको दाबी

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:२० मा प्रकाशित

सरकारले छाउपडी प्रथा उन्मुलनको अभियान तिब्र गतिमा अघि बढेको जनाएको छ । यो प्रथा उन्मुलनका लागि सचेतनाका कामसँगै छाउगोठ भत्काउन थालिएको र यसले केही दिनमै पूर्णता पाउने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी गराउनुभएको हो ।

आज प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले छाउपडी उन्मुलनका लागि भएका प्रयास तथा परिणाम सम्बन्धमा छलफल कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभयो । यसअघि गत वर्षको पुस ३० मा महिला तथा समाजिक विकास समितिमा छाउप्रथा उन्मुलनको विषयमा छलफल भएको थियो । त्यसयता गृह मन्त्रालयले जनचेतना फैलाउने तथा दोषीलाई कानुनी दायरामा ल्याउने कामलाई अघि बढाएको उहाँले समितिलाई जानकारी गराउनुभयो ।

छाउपडी प्रथा विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचनलमा रहेको र यसलाई उन्मुलन गर्न दोषीलाई कानुनी दायरामा ल्याउनुका साथै सचेतनाका कार्यक्रम चलाइएको गृहसचिव राइले बताउनुभयो । उहाँका अनुसार यसका लागि स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा, धामी, झाँक्री, पुरोहित, सामाजिक तथा गैरसरकारी संघसंस्थाका साथै पत्रकारसँगको समन्वयमा छाउपडी प्रथा उन्मुलन अभियान चलाइएको छ । यो अभियानमा छाउगोठ भत्काउने काम पनि समावेश भएको र अहिलेसम्म एक हजार दुइ सय ७६ वटा छाउगोठ नष्ट भइसकेको उहाँको भनाइ छ ।

यो अभियानको प्रगति विवरण समितिमा पेश गर्दै गृहसचिव प्रेमकुमारले अछाममा एक हजार दुइ सयको हाराहारीमा छाउगोठ भएकामा ९ सय ४९ वटा भत्काइ सकिएको जानकारी समितिलाई दिनुभयो । सुर्खेतमा भने १८ सय छाउगोठ रहेकोमा तीन सय भत्काइ सकेको र बाँकी छाउगोठ अब केही दिनमा नष्ट गर्ने योजनाको जानकारी उहाँले समितिको बैठकमा सुनाउनुभयो । यो अभियानमा असहयोग गर्दै भत्काइएका छाउगोठ फेरी बनाउनेलाई सरकारी सुविधा नदिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका डडेल्धुरा, दार्चुला, डोल्पा, रुकुम पश्चिम, कञ्चनपुर कैलालीमा छाउपडी प्रथा नभएको गृह सचिव राइको दाबी छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले छाउपडी नरोकिनुको कारण पहिचान गरी आवश्यक कार्यनीति बनाउने काम अघि बढेको जानकारी दिनुभयो । यो समस्या हटाउनका लागि छाउपडी मुक्त क्षेत्र घोषणा गरिदा उपयुक्त हुने धारणा पनि उहाँले राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू