अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

दशरथ रंगशालामा खेलाडीहरुबीच झडप, छुट्याउन प्रहरी मैदानमा

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:१९ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सोमबार भएका दुवै खेलहरु बराबरीमा सकिएका छन् । दशरथ रंगशालामा भएका पाँचौं चरणका खेलमा मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित तथा जावलाखेल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सित बराबरी खेलेको हो ।

मनाङ र मच्छिन्द्रबीचको खेल २–२ गोलको बराबरीमा सकियोे । खेलको दोस्रो मिनेटमै फेमीको गोलबाट मनाङले अग्रता लिएकामा सुजल श्रेष्ठले ४६औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएका थिए । ८१ औं मिनेटमा सोमिदेको गोलबाट मच्छिन्द्रले २–१ ले अग्रता लियो । तर, ८८औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई बराबरीमा ल्याएका थिए । अन्तिम केही मिनेटमा मच्छिन्द्रले लगातार गोलको प्रयास गरे पनि सफल हुन सकेन ।

खेल सकिएपछि भने मैदानमै खेलाडीहरुबीच झडप भएको थियो । भिडन्त बढ्दै गएपछि प्रहरी नै मैदानभित्र गएर खेलाडीहरुलाई छुट्याउनुपरेको थियो । ‘बेन्च’मा बसेका खेलाडीहरुसमेत मैदानमा छिरेर विपक्षी टोलीका खेलाडीहरुमाथि प्रहार गरेका थिए । सोक्रममा मनाङका रन्जन विष्टलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका छन् । सोमबारका खेलपछि लिगको अंकतालिकामा मनाङ शीर्ष स्थानमा कायमै रहेको छ । मनाङ ११ अंकसहित पहिलो तथा मच्छिन्द्र १० अंकसहित दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब र जावलाखेलको समान ९ अंक रहेको छ ।

पाँचौं चरणको तेस्रो खेलमा मंगलबार दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू