अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापती देउवाबीच छलफल

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:०८ मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भएको छ । अध्यक्ष दाहाल महासचिव विष्णु पौडेल सहित देउवालाई भेट्न आज बिहान देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

भेटमा सत्य निरुपण र बेपत्ता आयोग गठन टुंग्याउने विषयमा छलफल भएको महासचिव पौडेलले जानकारी दिनुभयो । छोटो समय भएको भेटमा देउवाले दुई आयोगमा पदाधिकारी छिटो टुंग्याउने विषयमा आफ्नो सहमति रहेको बताएको पौडेलले जानकारी दिनुभयो ।

दुवै आयोग गत बैशाख १ गतेबाट पदाधिकारी विहीन छन् । सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो ।

तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन् । सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधिकारीमा पुराना नदोहोर्याउने सहमति गरेको थियो । समितिले आगामी बुधबार बैठक गरेर नाम छनोट गर्ने निर्णय गरेको थियो । त्यसैको पूर्वसन्ध्यामा दाहाल र देउवाबीच छलफल भएको हो । सत्य निरूपण र बेपत्ता आयोग २०७१ माघमा गठन गरिएका थिए । ६५ हजार भन्दा बढी उजुरी परेकामा आयोगले चार वर्षसम्म पनि छानबिन गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू