अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

आदिवासी जनजाति महांसघ अमेरिकाद्वारा शुभकामना आदान-प्रदान

बिआरटीनेपाल २०७६ पुष २० गते १९:५४ मा प्रकाशित

अमेरिका । आदिवासी जनजाति महासङ्घ (फिफ्ना) अमेरिकाले नयाँ वर्ष २०२० र आदिवासी जनजातिहरूको राष्ट्रिय चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनवरी ४ मा न्युयोर्कमा आयोजित उक्त कार्यक्रमका अवसरमा फिप्नाको वर्तमान अवस्थामा वैचारिक, साङ्गठनिक साथै कार्यक्रमिक अवधारणामाथि छलफल तथा अन्तर्क्रियासमेत गरेको छ ।

उक्त अवसरमा नेपालको आदिवासी जनजातिहरूको मुद्दा पहिचान सहितको सङ्घीयता र आदिवासी जनजातिहरूको समानुपातिक समावेशीकरणको सिद्धान्तको आधारमा राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउने सवालमा संसार भरी छरिएर रहेका आदिवासी जनजातिहरूको एकतालाई बलियो बनाउँदै समग्र मुद्दालाई सशक्त र प्रभावकारी कार्यान्वयनमा जोड दिन सबै जुट्नुपर्ने बताइएको थियो ।

त्यसै गरी नेपाली अमेरिकन समुदाय बिचको एकता, भ्रातृत्व, सद्भाव कायम गर्दै आगामी दिनमा अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको संगठनहरूमार्फत् नेपालको भाषा, कला, संस्कृति, रीतिरिवाज, भेशभुषालाई विश्व समुदायबिच प्रवर्धन, प्रदर्शन र प्रचार गरेर नेपालप्रति आकर्षित गराउने र नेपाली समुदाय बिचमा पनि नेपाली पहिचान सहित बाँच्ने सवालमा एक महत्त्वपूर्ण कोसेढुंगा बन्ने विश्वास लिएको फिफ्नाले जनाएको छ ।

त्यसै गरी पिफ्नाले नेपाली अमेरिकन समुदायमा नेपाली आदिवासी पहिचानलाई स्थायी रूपमा यहाँको स्थानीय सरकारसँग समेत सहकार्य गरेर उचित संरक्षण र संवर्धनको कामहरू गर्ने विषयलाई छलफलको मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेको थियो । साथै फिप्नाको आन्तरिक सुदृढीकरण, कार्यक्षमता विकास तथा सङ्गठन विस्तारका मुद्दाहरूलाई पनि प्राथमिकता दिने छलफलको अर्को एजेन्डा रहेको थियो । यी सबै छलफलहरू र उठेका जिज्ञासाहरूमा सबैको सक्रिय सहभागिता रहेको भन्दै पिफ्नाले उपस्थिति सबैमा धन्यवाद व्यक्त समेत गरेको छ ।

आगामी दिनमा फिप्नाले आफ्नो  वैचारिक, सैद्धान्तिक विचारधारालाई पनि प्रमुख प्राथमिकताका साथै मुख्य उद्देश्यमा केन्द्रित हुँदै नेपाली अमेरिकन समुदायको सामाजिक तथा मानवीय कार्यहरूमा सम्पूर्ण नेपाली सामाजिक, सामुदायिक संघसस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने निष्कर्ष निकालेको छ ।

नेपाली महावाणिज्यदुतावासका का.बा.महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी तथा फिप्नाका कानुनी सल्लाहकार रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष, सङ्घीय परिषद्का सभामुख, न्युयोर्कमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाका अध्यक्षहरू, प्रतिनिधिहरू, सल्लाहकारहरू, पूर्व पदाधिकारीहरू,पत्रकारहरू, बुद्धिजीवीहरू, समाजसेवी तथा सामाजिक अभियन्ताहरू लगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरू, स्वयंसेवक र व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्णमा फिप्नाले धन्यवाद व्यक्त गरेको छ ।

नेपाल र नेपालीको समृद्धि तथा विकासको लागी नेपाल सरकारले सुरुवात गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै प्रकारले सफल पार्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको बताउँदै यस जिम्मेवारीलाई पुरा गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिने प्रतिबद्धता समेत महांसघका अध्यक्ष लोक चेम्जोङ तथा महासचिव नरेन्द्र थापाले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू