अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

नेपालको सबैभन्दा ठुलो पुरस्कार रहेको फोटो प्रतियोगिताको घोषणा

फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइने

बिआरटीनेपाल २०७६ पुष २० गते ९:०४ मा प्रकाशित

– प्रतियोगितापछि काठमाडौँ र मोफसलका ५ स्थानमा प्रदर्शनी हुने
– फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइने
– सात विधामा भाग लिन पाइने
– व्यावसायिक र सौखिन फोटोग्राफर तथा फोटो पत्रकारले भाग लिन पाउने
– फोटो दर्ता पुस २० देखि माघ १७ २०७६ राति ११ बजेर ५९ मिनेटसम्म गर्न सकिने

काठमाडौँ, फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादी स्थित होटेल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी Nepal photo contest 2076 को घोषणा गरेको हो ।

ग्लोबल आइएमई बैङ्क नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको सुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेबसाइट www.pjclub.com.np वा www.npc.photonepal.trevel मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ । आइतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।

कार्यक्रममा सबै अतिथिलाई फोटो पत्रकार क्लब नेपालकी महासचिव श्री श्रुति श्रेष्ठले स्वागत गरेकी थिइन् । फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको सङ्ग्रह पुस्तक Nepal Land of Contrast-V पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैङ्क तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उप कुलपति श्री गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक श्री विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रबन्धक श्री सुरज राज वाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रबन्धक श्री रमेश थापा, मनराम ग्रुपका संरक्षक श्रीमती मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष श्री विकास कार्कीले Nepal Land of Contrast-V फोटो पुस्तकको लोकार्पण गरेका थिए ।

अतिथिहरूको स्वागत गर्दै डिस मिडियाका उप–महाप्रबन्धक श्री सञ्जय राजभण्डारीले फोटो जर्नलिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको र यस्ता कार्यमा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

यसै गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक श्री सुरज राज वाहकले ५ वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए । उनले यसपल्टको फोटो प्रतियोगिताको सफलताका लागि क्लबलाई शुभकामनासमेत दिएका थिए ।

त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उप कुलपति श्री गोपाल चित्रकारले स्थापनाको छोटो समयमा नै क्लबले ठोस उपलब्धि हासिल गरेको उल्लेख गरे । ‘यो फोटो जर्नलिस्ट क्लबको अवधारणा एउटा सानो कोठामा भएको थियो,’ उनले भने, ‘तर यसले स्थापनाको यति छोटो समयमै पाएको उपलब्धि निकै गौरव शाली छ ।’ उनले फोटो जर्नलिस्ट क्लबको आयोजनामा हुने फोटो प्रतियोगिताको तुलना साहित्य विधाको मदन पुरस्कार जत्तिकै भएको उल्लेख गरे । चित्रकारले यो प्रतियोगिता फोटो विधाका लागि मदन पुरस्कार जत्तिकै भएको उल्लेख गर्दै फोटो पत्रकारका लागि यसमा विजयी हुनु मदन पुरस्कार जिते सरह नै भएको बताए ।

कार्यक्रमका अर्का वक्ता पर्यटन बोर्डका कामु निमित्त निर्देशक श्री विमल कँडेलले क्लबको फोटो प्रतियोगिताजस्तो कार्यक्रममा पर्यटन बोर्ड जोडिन पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया