अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

अष्ट्रेलियाको आगलागीका कारण तापक्रममा भारी वृद्धि, २५ जनाको मृत्यु , ५० करोड जिवजन्तु स्वाहा

बिआरटीनेपाल २०७६ पुष २० गते ८:०९ मा प्रकाशित

आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । आगलागी र बढ्दो तापक्रमका कारण मानिसहरु त्रस्त भएका छन् । आगामी २४ घन्टा सबैभन्दा खराब र भयानक रहने अग्निनियन्त्रकहरुले जनाएका छन् । १४६ ठूला आगोको लप्काले शहरहरु घेरिरहेको छ । करिब तीन हजार अग्निनियन्त्रक आगो नियन्त्रणको प्रयासमा अनवरत संघर्षरत रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आगोमा परेर २५ जनाले ज्यान गुमाइसकेको, १५ सयभन्दा धेरै घर जलेको र करोडौं एकड जमीन आगोले ध्वस्त भएको बताईएको छ । आगलागीका कारण अहिलेसम्म ५० करोड जनावर जलेको युनिभर्सिटी अफ सिड्नीका इकोलोजिस्टहरुले जनाएका छन् । आगो नियन्त्रणका लागि गरिएका सम्पूर्ण प्रयासहरु निरर्थक हुँदै गएका छन् । क्षति कम गराउन मानिसहरुलाई समुद्री किनारामा गएर बस्न अष्ट्रेलिया सरकारले अपील गरेको छ । दक्षिणपूर्वी अष्ट्रेलियाका हजारौं बासिन्दा समुद्री किनारमा सरिसकेका छन् भने अन्यत्रका प्रभावितले पनि विकल्प खोजिरहेका छन् ।

आगो निभाउन मात्र एक करोड पाउण्ड छुट्याइएको बीबीसीले जनाएको छ । न्यू साउथ वेल्सको करिब १० करोड एकड, भिक्टोरियामा करिब ६ हजार हेक्टर जमिन जलिसकेको जनाइएको छ भने एक हजारभन्दा धेरै घर खरानी भएको छन् । २ लाख ६४ हजार हेक्टर क्षेत्र आगोले ध्वस्त बनाएको समाचारहरुमा उल्लेख छ । डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गए पनि आगलागी ब्यहोरिरहेका चार राज्यमा तापक्रम बढेर ४९ डिग्रीसम्म पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू