अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता, ४५ उम्मेद्वार चुनावी मैदानमा

बिआरटीनेपाल २०७६ पुष २० गते ८:०५ मा प्रकाशित

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनको लागि बिभिन्न राजनीतिक दलहरुले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का ९ , नेपाली काँग्रेसका ७ , राजपाका २ र समाजवादी पार्टीका १ सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्य समूहबाट ७ सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका १/१ पदका लागि ३/३ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक÷एक पदका लागि २ /२ जनाले उम्मेवारी दर्ता गराएका छन् । प्रदेश नं ३ मा महिला र अन्य समूहका १/१ पदका लागि ३/३ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला र अन्य समूहका १/१ पदका लागि महिलातर्फ २ र अन्य समूहतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराका छन् । प्रदेश नं ५ मा महिला १, अल्पसङ्ख्यक १ र अन्य समूहका १÷१ पदका लागि क्रमशः २, ३ र ४ जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला १ र अन्य समूहको १ पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका १/१ पदका लागि २/२ जनाको उम्मेदवारी परेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

पदावधि सकिनेमध्ये १ सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका चयनमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य मतदाता रहने प्राबधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू