अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

जापानले २ हजार बढी नेपाली कामदार लाने

बिआरटीनेपाल २०७६ पुष १९ गते ९:४१ मा प्रकाशित

काठमाडौँ, जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झन्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।

जापान फाउन्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउन्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जनवरीमा आठ दिन भाषा परीक्षा हुनेछ । उक्त दिन ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिख हुन । साथै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ ।

कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्नेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम २०० अङ्क ल्याउनुपर्ने छ ।

परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउन्डेसनले डिल्लीबजार स्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ ।

गत चैतमा नेपाल र जापानबिच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गत वर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू