अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षतामा खिलानाथ दाहाल

बिआरटीनेपाल २०७६ पुष १९ गते ९:२६ मा प्रकाशित

काठमाडौँ, नेपाल सहकारी पत्रकार समाजको नवौँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा काजी श्रेष्ठ, सचिवमा तुलसी सुवेदी, सहसचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा शर्मिला ठकुरी निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा गोविन्द गिरी र हेमन्तराज जोशी निर्वाचित भएका छन् ।

साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशवप्रसाद बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले महत्त्वपूर्ण योगदान गर्ने बताए । उत्पादनशील क्षेत्रमा सहकारीलाई लगानी गर्न ऐन, कानुन बाधक भएको भन्दै बडालले केही नेपाल ऐनमार्फत गाँठो फुकाउने तयारी भएको बताए । कृषि, उद्योग, शिक्षा, विद्युत्, स्वास्थ्य लगायतका क्षेत्रमा सहकारीलाई लगानी गर्न विभिन्न ४७ वटा ऐन बाधक भएको भन्दै अफ्ठायारा फुकाउनुपर्ने बताए । सहकारीले गरिबी घटाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सहकारी कम्पनी र गैरसरकारी संस्था भन्दा फरक भएको भन्दै व्यवहारिकरुपमै सहकारी सिद्धान्तमै चल्नुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले सहकारीले उत्पादन बढाएर कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउनुपर्ने बताए । उत्पादन प्रणालीमा सहकारी नगई सुखै नभएको उनको भनाइ छ । सहकारीमार्फत समाजवादमा जान सकिने भए पनि विभिन्न नियम कानुन बाधक भएकाले सहकारीले फड्को मार्न नसकेको बताए । ‘सहकारी मैत्री कानुन आउनुपर्छ, अनि मात्र उत्पादनशील क्षेत्रमा सहकारी जान सक्छ ।’ उनले भने । वित्तीय सहकारीको व्यवस्थानका लागि छुट्टै बचत तथा ऋण ऐन आवश्यक भइसकेको उनको भनाइ छ । सहकारी सङ्ख्यात्मक मात्र नभई गुणात्मक विकास हुनुपर्ने उनले जोड दिए ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए । नवौँ वार्षिक साधारण सभाले अध्यक्ष खिलानाथ दाहालको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ठकुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । बन्द सत्रको सञ्चालन सहसचिव अर्जुन खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू