अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

कामना फिल्म अवार्डस् २०७६ सम्पन्न, कसले कसले अवार्ड पाए त !

बिआरटीनेपाल २०७६ पुष १९ गते ९:१७ मा प्रकाशित

नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ संस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुर स्थित हेरीटेज गार्डेनमा भव्य रूपमा सम्पन्न भएको छ ।

सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन् । कामना न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल श्रेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी २ व्यक्तित्वलाई प्रदान गरियो ।

समाजसेवाका क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित पहिलो पटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ । उहाँहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेश कृष्ण श्रेष्ठ र समीप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो ।

प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्य दृश्य सामग्री प्रदर्शनपश्चात् यी दुई सम्मान प्रदान गरेर सुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडि रहेर योगदान पु¥याउने दुई फिल्म कर्मीलाई कृतिमय दीर्घ योगदान सम्मान (लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन सुरु गरेको समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियाँ सहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँ सहित पर्दा पछाडिको कलाकार तर्फको कृतिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरिएको थियो । उहाहरुलाई कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महा निरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महा निरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो । सम्मान प्रदान गरिदा समारोहका सहभागीहरूले स्वस्फुर्त रूपमा उठेर सम्मान गरेका थिए ।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जुरीको ९० र भोटिङको १० प्रतिशत अङ्क जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ । १० विधाको मनोनयनमा परेको प्रसादले अवार्डका मुख्य विधाहरू सर्वोत्कृष्ट चलचित्र सहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपिन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा सुशील पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए । समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, सङ्गीतकार तथा छायाङ्कन गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट प्रियङ्का कार्की सर्वोत्कृष्ट सह अभिनेत्री, सेड्रिना शर्मा बाल कलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा सङ्गीतकार र पुरुषोत्तम प्रधान छायाकारको अवार्ड चुम्न सफल भए । यो फिल्मबाट २ बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट सङ्गीतकारको मनोनयनमा परेका थिए ।

गीत, सङ्गीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढेको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पन्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ । हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे । उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए । यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५ औँ अवार्ड चुम्न सफल भएका छन् । १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पार्श्व सङ्गीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ । समारोहमा चलचित्र साइँलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पार्श्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ । यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौँबाट वर्षको सर्वोत्कृष्ट खल पात्र ठहरिए। त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाध मायाले पार्श्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरिलाई जुरी अवार्ड प्रदान गरिएको छ ।

राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट सुरु भएको कार्यक्रमलाई नरेश भट्टराई र मन्दीरा ढुङ्गेलले अगाडि बढाएका थिए भने तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देवीका वन्दना, शम्भुजित बास्कोटा, प्रह्लाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए । त्यसै गरी अभिनेत्री मिथिला शर्माले एकल नृत्य गरेर वाह वाही पाइन् भने विनु शाक्य, यसराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए। अर्को मेड्ले डान्समा गौरी मल्ल र नरेशवीर सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए। त्यसै गरी राजा राजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोग लिएर दर्शक हँसाए ।

अन्य अवार्डहरुमा:
जुरी अवार्ड: चलचित्र हरि
गोदरेज नम्बर वन पपुलर च्वाईस अवार्ड: स्वस्तिमा खड्का
सिजी क्रिटीक्स अवार्ड फर म्युजिक: न्हयु बज्राचार्य
सिजी क्रिटीक्स अवार्ड फर फेशन: ज्ञानी शोभा तुलाधर
सिजी क्रिटीक्स अवार्ड फर थिएटर: सिर्जना सुब्बा
भरतलाल ह्युम्यानिटेरियन अवार्ड: लायन सोनाम साङ्पो
पुष्करलाल मिडिया अवार्ड: रामकृष्ण मानन्धर, इमेज ग्रुप अफ कम्पनिज
कीर्तिमय दीर्घ योगदान सम्मान कलातर्फ: निर शाह
कीर्तिमय दीर्घ योगदान सम्मान पर्दापछाडिको कलाकारतरर्फ: सन्तु तामाङ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू