अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

गोरखादेखि काठमाण्डौसम्मको ‘एकीकरण’ पदमार्गमा नेपाली सेनाको पदयात्रा

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:०९ मा प्रकाशित

नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानलाई हर्षाेल्लासका साथ मनाउन र नेपाल भ्रमण वर्ष २०२० को प्रचार(प्रसारका लागि गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको हो । शुक्रबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको छ ।

नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति उपरथी गोकुल भण्डारी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले नेपाली सेनाको पदयात्री टोलीलाई झण्डा र टर्च हस्तान्तरण गरेपछि यात्राको सुभारम्भ गरिएको हो । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्री नेतृत्वको ४० जनाको फौज सहभागी छ । यस क्रममा टर्चसहितको नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएका छन् ।

पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।शुक्रबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीका दिन काठमाण्डौ आइपुग्ने नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति उपरथी गोकुल भण्डारीले बताउनुभयो । गोरखा दरबारबाट निस्किएको पदयात्राको टोलीले पिपलथोक, ताप्लेकोट, अश्राङ हुँदै बोर्लाङघाट पुगेर धादिङको देवीदत्त गणको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । त्यस्तै देवीदत्त गणले नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरी टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा काठमाण्डौ र्पुयाएर पृथ्वी जयन्तीका दिन विशेष कार्यक्रम गर्ने नेपाली सेनाको तयारी छ ।

पदयात्रा शुभारम्भ कार्यक्रममा उपरथी भण्डारीले नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धनका लागि दरबार गढी किल्लाहरुको संरक्षण र संवर्द्धनमा नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभयो । इतिहासको संरक्षण तथा भावी पुस्तालाई इतिहासको जानकारी दिन पदयात्रा महत्वपूर्ण हुने उहाँको विश्वास छ । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले एकीकरण पदमार्ग अन्तर्गत आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पश्चिमतर्फको ऐतिहासिक पदमार्गको पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखादेखि काठमाण्डौसम्म हिँडेको पुरानो बाटोलाई सरकारले एकीकरण पदमार्गका रुपमा विकास गर्न लागेको हो । यो वर्ष त्यस बाटोको अध्ययनको जिम्मा नेपाली सेनालाई दिइएको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै १ सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको हो ।

रणसिंह दल गणले भने गोरखा जिल्लाभित्रको बाटोको अध्ययन गर्नेछ । काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोसको दूरीमा रहेको छ । बाटोको बिचबिचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन नसकेको पदमार्गबारे जानकार गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गोरखा खण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ४ वटा मात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भञ्ज्याङ, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटबेसीको कोसेढुंगा सुरक्षित छन् । गोरखा दरबारबाट एक कोस परको फिनामको मेल बिसौना आसपास र बोर्लाङ गाउँको कोसेढुंगा भने हराएका उहाँले बताउनुभयो । यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ ।

पुरानो हुलाकी मार्गका रुपमा रहेको बाटो आसपासका पुराना चौताराहरुको पनि संरक्षण हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यस्ता सम्पदाहरुको संरक्षण र पदमार्गको विकासका लागि आउँदो आर्थिक वर्षबाट आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू