अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

इरान–अमेरिका तनावले सुनको मूल्यमा नयाँ रेकर्ड

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:५४ मा प्रकाशित

अमेरिका र इरानबीच बढ्दो तनावका बीच सुनको भाउ पनि बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो। त्यसपछि स्थिर रहेको सुनको भाउ मंगलबार ७३ हजार ५ सय नै पुगेको थियो।

बिहीबार फेरि छापावाल सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन बिहीबार तोलाको ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।शुक्रबार तेजाबी सुनको तोलाको ७४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको पनि १० रुपैयाँ प्रतितोला बढेर ९ सय रुपैयाँ पुगेको छ।

सुनको भाउ बढ्नुको प्रमुख कारण अमेरिका–इरानबीचको बढ्दो तनाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । इरान–अमेरिकाबीचको टकरावले अन्तर्राष्ट्रिय बजारमै पनि सुनका भाउ बढेको छ।

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमणमा इरानी सेनाका कमाण्डर कासिम सुलेमानीको मारिएपछि मध्यपूर्व र अमेरिकाबीच टकरावको अवस्था सिर्जना भएको छ । त्यस्तै अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण पनि सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपालले डलरको कारोबार भारतीय रुपैयाँमा गर्ने भएकाले त्यसको प्रत्यक्ष असर सुनचाँदी कारोबारमा परेको हो ।

प्रतिक्रिया