अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

टाइमले छानेका वर्षका १० उत्कृष्ट इङ्लिश फिल्म

बिआरटीनेपाल २०७६ पुष १६ गते २१:१० मा प्रकाशित

वर्ष २०१९ को अन्तिम सातामा यस वर्ष सिनेमाको संसारमा प्राप्त भएक उपलब्धिबारे पनि व्यापक चर्चा भइरहेको छ । यो चर्चामा सबभन्दा बढी खोजी हुने भनेको वर्षका उत्कृष्ट फिल्मको हो।

त्यसमाथि हलिउड र बलिउडजस्ता संसारकै सबभन्दा ठूला फिल्म उद्योगले निर्माण गरेका राम्रा फिल्म कुन् हुन् भनेर फिल्मप्रेमीले खोजी गर्नु स्वभाविक हो। यसै सन्दर्भमा हामीले विश्वप्रसिद्ध ‘टाइम’ म्यागजिनले छानेका वर्षका १० उत्कृष्ट फिल्को सुचि यहाँ प्रस्तुत गरेका छौं। यो सुचिमा सबै हलिउड फिल्ममात्रै छैनन्। सुचिको पहिलो नम्बरमै स्पेनका चर्चित निर्देशक पेड्रो आल्माडेभोरको फिल्म स्पेनी भाषाको फिल्म छ भने एउटा कोरियन फिल्ममा पनि यसमा छ।

१. पेन एन्ड ग्लोरी
प्रसिद्ध स्पनी निर्देशक पेड्रो आल्माडेभोरको ‘पेन एन्ड ग्लोरी’लाई यस वर्षको सबभन्दा राम्रो फिल्मका रुपमा टाइमले छानेको छ। पेड्रो आफैंमा फिल्म मेकिङको विधाजस्तो भइसकेका निर्देशक हुन्, जसलाई अभिनेत्री मनिषा कोइरालाले सिनेमाको भगवान भनेकी छन्। अल अवाउट माई मदर, टक टु हरजस्ता कैयौं प्रसिद्ध फिल्म बनाएका पेड्रोको यो फिल्म सेमीबायोग्राफिकल हो। ६० वर्षीय फिल्म निर्देशकको स्मृतिजसरी यो फिल्म बनाइएको छ। फिल्म स्पेनी भाषामा छ। यसमा पेड्रोकी फेवरेट अभिनेत्री पेनिलप क्रुज पनि छन्। फिल्मको मूख्य भूमिकामा छन् एन्टेनियो बान्डेरस। लिजन्ड अफ जोरो र डेस्पेराडोजस्ता फिल्मका हिरो एन्टेनियो यसमा ६० वर्षियको भूमिकामा छन्। यसै फिल्मका लागि उनले क्यान फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्डसमेत पाए।

२. दी आइरिसम्यान
निर्देशक मार्टिन स्कोरसेजी र अभिनेता रोबर्ट डि निरोको जोडी भनेको अल्टिमेट हलिउड जोडी हो। निरोले ओस्कर जितेको ‘रेजिङ बुल’देखि यस वर्षको ‘दी आइरिसम्यान’ सम्म यो जोडीले सिनेमामा जादु छरिररहेको छ। मार्वलका सुपरहिरो फिल्मलाई सिनेमा नै होइनन् भनेर यस वर्ष चर्चामा रहेका स्कोरसेजीले नेटफिल्क्सका लागि बनाएको आइरिसम्यानलाई धेरै अर्थमा यो वर्षको हलिउडको सबभन्दा सानदार फिल्म मानियो। निरोका साथमा अल पचिनोसमेत रहेको यसलाई केही हप्ताका लागि फिल्म हलमा पनि रिलिज गरियो ताकि यसले ओस्करमा प्रतिस्पर्धा गर्न पाओस्। ग्यांगस्टर फिल्ममा स्कोरसेजीलाई जित्न मुश्किलै छ।

३. वन्स अपन अ टाइम इन हलिउड
हलिउडमा स्कोरसेजीपछि कुनै एक निर्देशकको आफ्नै ब्रान्ड छ भने त्यो सायद, क्वान्टिन टेरन्टिनो नै होलान्। स्पलीवर्ग, जेम्स क्यामरुन वा अलेहान्द्रो इनारितु फरक किसिमका निर्देशक हुन्। ब्रान्ड र ट्रेडमार्कमा टेरन्टिनो अब्बल छन्। हिंसात्मक फिल्ममा त उनलाई उछिन्ने ताकासी माइकजस्ता जापानीहरुमात्रै होलान् भनिन्छ। करिअरमै जम्मा १० वटा फिल्म निर्देशन गर्ने घोषणा गरेका टेरन्टिनोको यस वर्ष नवौं फिल्म आयो- वन्स अपन अ टाइम इन हलिउड।

लियोनार्डो डिक्याप्रियो र ब्रड पिट हलिउडका दुई सुपरस्टारले अभिनय गरेको यो फिल्म हलिउडको एक स्टन्टम्यानको कथा हो। असफल हुँदै गइरहेको टिभी स्टारको डुप्लिकेट एवं स्टन्ट म्यानको कथाबाट उनले ६० को दशको हलिउडको कथा भनेका छन्। साथमा छ, अभिनेत्री एवं निर्देशक रोमन पोलन्स्कीकी पत्नी स्यारोन टेटको विभत्स हत्याको कथा।

४. म्यारिज स्टोरी
नोआ बउमसको यो फिल्म परिवारको कथा हो। पछिल्लो समय हलिउडमा थुप्रै फिल्ममा सहायक भूमिकामा देखिएका एडम ड्राइभर यसमा स्कारलेट जोन्सनसँग मूख्य भूमिकामा छन्। यी सम्बन्ध विच्छेदको संघारमा पुगेका दम्पतिको कथा हो, जसलाई जीवनमा आउनेवाला संकटबारे केही थाहा छैन। असगर फरहादीको ‘अ सेपरेसन’मा इरानी समाजमा दामपत्यको विखण्डनको वर्णन थियो भने यसमा अमेरिकी समाजको।

५. लिटल वुमन
१ सय ५० वर्ष पुरानो किताबमाथि अहिले फिल्म बनाउँदा कस्तो होला? त्यो पनि कुनै इतिहासको घटनामाथि नभइ काल्पनिक उपन्यासमा? यसको जवाफ जान्न चाहनुहुन्छ भने ‘लिटल वुमन’ हेर्नुस्। घटना, पात्र र समय पुरानो हुन्छ तर भावना र संवेदना भनेका लामो समयसम्म बाँच्न सक्छन्। ‘लेडी बर्ड’ जस्तो प्रशंसित फिल्मकी निर्देशक ग्रेटा ग्रेउइगको यो फिल्म ‘गर्ल्स स्टोरी’ हो। टाइमको यो लिस्टमा परेको ‘म्यारिज स्टोरी’का निर्देशक नोआ ग्रेटाका ‘पार्टनर’ हुन्।

६. प्यारासाइट
यस वर्ष क्यान फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट घोषित भएको बोन जो हुको यो फिल्म धेरै कारणले प्रशंसित छ। एक त यो अर्वाड जित्ने यो पहिलो कोरियन फिल्म हो। दोस्रो फिल्मको कथा र प्रस्तुति नै यति सुन्दर छ कि यसले दर्शकलाई आकर्षित गरिहाल्छ। यो मूलत दुई परिवारको कथा हो। सिओलको एउटा धनाढ्य परिवार र बेसमेन्टमा गुजारा गरिरहेको गरिब परिवार। एउटा परिवारको सम्पन्नतामाथि अर्को चलाख परिवारले कसरी खेल्न सक्छ? यो प्रश्नमाथि प्यारासाइट बनेको छ।

७. नाइफ्स आउट
ब्रिक तथा लुपर जस्ता फिल्मका निर्देशक रायन जोन्सनले स्टार वार श्रृंखलाको फिल्म पनि निर्देशन गरेका छन्। यस वर्ष आएको उनको फिल्म ‘नाइफ्स आउट’ भने विशेष रह्यो। थ्रिलर र मिस्ट्री जनराको यो फिल्म धेरै पत्र पत्रमा कथा भन्ने शैलीका कारण प्रशंसित रह्यो। जेम्स बोन्ड अभिनेता ड्यानियल क्रेग तथा अन्ना डे अरमासको अभिनयका कारण पनि यो फिल्म चर्चित रह्यो।

८. डोलेमाइट इज माई नेम
एडी मर्फी हलिउडमा चिनाइरहनुपर्ने नाम होइन। सत्तरीको दशकदेखि सक्रिय मर्फी असीको दशकमा ‘नटी प्रोफेसर’, ‘बेभर्ली हिल्स कप’, ‘कमिङ टु अमेरिका’ जस्ता फिल्मबाट स्टार बने। स्ट्यान्ड अप कमेडियनका रुपमा पनि उनको ठूलो नाम छ। यस वर्ष यिनै मर्फीले अभिनय गरेको कमेडी ‘डोलेमाइट ईज माइ नेम’ आयो। यसलाई क्रेग बुअरले निर्देशन गरेको यो फिल्ममा उनले रुडी रे मुरेको भूमिकामा अभिनय गरेका छन्।

९. अ ब्युटिफुल डे इन द नेवरहुड
टम ह्यांक्स हलिउडका एउटा ब्रान्ड हुन्। उनले अभिनय गरेका फिल्मको चर्चा त्यसै चुलिन्छ। सेभिङ प्राइभेट रायनदेखि द टर्मिनल वा फरेस्ट गम्म वा कास्ट अवे धेरै किसिमका भूमिकामा ह्यांङ्कसले दर्शकलाई रिझाइसकेका छन्। यस वर्ष भने उनी टेलिभिजनमा बच्चाका कार्यक्रमका चर्चित होस्ट फ्रेज रोजर्सको भूमिकामा देखिए। यसलाई उनको जीवन कथा भन्दा पनि उनको काम गर्ने शैली र अर्का एक पत्रकारसँगको नराम्रो सम्बन्धका माध्यमले दर्शाइएको छ।

१०. हस्लर्स
यो दुई नतृकीको कथा हो। यी दुवै एकल आमा हुन्। २००८ मा अमेरिकाको अर्थतन्त्र धरासायी भएपछि आफ्नो परिवार र बच्चाको पालनपोषणका लागि बजारमा निस्किएका, आफ्नो प्रतीभा देखाएर आर्जन गर्नका लागि। जेनिफर लोपेज र कन्सत्यान्स वुले मूख्य भूमिकामा अभिनय गरेको लोरेन स्काफरिया निर्देशित यो फिल्म आवरणमा साधारण देखिए पनि यसले समाजको कथा निकै गहिरोसँग भन्छ। त्यो भनेको के भने, जब पुरुषले हाँकेको अर्थव्यवस्था धरासायी हुन्छ त्यसको सबभन्दा ठूलो मार महिला र केटाकेटीमा पर्छ। अनि यसबाट परिवारलाई पार लगाउने जिम्मा महिला/आमाहरुको काँधमा आइपुग्छ। कान्तिपुरले यो समाचार छापेको छ ।

प्रतिक्रिया