अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्व ९७ करोड बाहिरियो

बिआरटीनेपाल २०७६ पुष १६ गते १२:१७ मा प्रकाशित

काठमाडौँ, रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्व ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।

तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहौल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको छ । यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्वौँ रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी आएको छैन ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७६÷७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्याङ्कले सो अवधिमा कुल ३७ अर्व ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्व ८० करोड रुपैयाँ बाहिरिएको छ । हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्व ८० करोड रुपैयाँ बाहिरिएको हो ।

गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत वर्षको सोही अवधिमा कुल ३४ अर्व ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैङ्कले जनाएको छ । तर, यहाँको पैसा अनावश्यक रूपमा बाहिर नजाओस् भनेर सरकारले गरेको नीतिगत कडाइका कारण अहिले नेपालीले विदेश घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठुलो रकम बाहिरिँदै आएकामा चालू आवको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैङ्कको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो । यसै गरी, उच्च शिक्षा अध्ययनका लागि बितेका चार महिनाको अवधिमा कुल १२ अर्व १७ करोड रुपैयाँ बाहिरिएको छ ।

तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कात्तिक) मा भन्दा चालू आवको सो अवधिमा कम रकम उच्च शिक्षाका लागि बिदेसिएको थियो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैङ्कले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैङ्कको तथ्याङ्कमा छ ।

यसै गरी, मुलुकको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैङ्कको भनाइ छ । राष्ट्र बैङ्कले हाल विदेशी मुद्रा सटही सुविधामा केही कडाइ गरेको छ ।

पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । जसका कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको सङ्ख्या केही घटेको हो ।

भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत देशमा पढ्न जाने विद्यार्थी सङ्ख्या बढेसँगै हरेक वर्ष नेपालबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेर जम्मा ३ खर्व ४ अर्व ९७ करोड रुपैयाँ मात्र रहेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । गत वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू