अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

फोर्ब्स पत्रिकाद्वारा नेपाली मूलका सीमान्त गौतम ३० वर्ष मुनिका ३० जना उद्यमीमा छनौट

विजय थापा २०७६ पुष १६ गते ११:५८ मा प्रकाशित

डिसी । बिश्वप्रख्यात फोर्ब्स पत्रिका द्वारा नेपाली मूलका सीमान्त गौतम ३० वर्ष मुनिका ३० जना उद्यमीमा छनौटमा परेका छन् । फोर्ब्स पत्रिकाले गत वर्ष डिसेम्बर ३ का दिन अन्य देशबाट अमेरिका आई व्यवसाय गर्ने युवाहरूको सूची प्रकाशित गरेको थियो । हरेक वर्ष यस विधामा उक्त पत्रिकाले थुप्रै विधामा उल्लेखनीय योगदान तथा सफलता हासिल गर्ने युवाहरूलाई प्रोत्साहन स्वरूप ३० जनाको सूची प्रकाशित गर्ने क्रममा नेपाली मूलका गौतम ३० जना भित्र परेका हुन् । २४ वर्षीय गौतम उक्त सूचीमा पर्ने सबैभन्दा कान्छा उद्यमी हुन् ।

गौतमलाई प्रविधि विधामा र उक्त उमेर भित्र उल्लेखनीय काम काम गरे बापत फोर्ब्सले सम्मान गरेको हो । उनी सिन्याप्स टेक्नोलोजी कम्पनीका सह संस्थापक/सञ्चालक हुन् । सिन्याप्स टेक्नोलोजी कम्पनी सुरक्षा जाँच सम्बन्धी मूलतः विमानस्थल लगायत सुरक्षा दिने स्थानहरूमा यात्रीहरूले ल्याएका झोला बाकसहरूमा अवैध र प्रतिबन्धित सामानहरू ल्याएको या नल्याएको बारेमा जानकारी दिने सफ्टवेयरको निर्माण गर्दछ । साथै एक देशबाट अर्को देशमा कुनै पनि हुलाक या द्रुत सेवाबाट पठाइएका गैर कानुनी सामग्रीहरूको समेत सिन्याप्स टेक्नोलोजी प्रतिष्ठानले पत्ता लगाउने र सुरक्षा निकायलाई सूचना दिने काम गर्दछ ।

को हुन् सीमान्त गौतम ?
नेपाल सिराहा जिल्ला बढहरी गाउँ पालिकाका गौतम काठमाडौँ बानेश्वर हुँदै अमेरिका ७ वर्षका उमेरमा आएका हुन् । अमेरिकाको भर्जिनिया शार्लोट्सभिल निवासी गौतम हाल ३ वर्ष देखि क्यालिफोर्नियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गौतम मातापिताको साथ डिभी चिट्ठा अन्तर्गत सन् २००२ मा पेन्सेलभेनिया आएका हुन् भने पछि भर्जिनिया शार्लोट्सभिलमा बसाई सरेका हुन् । भर्जिनियामा अध्ययन समाप्त पछि उनले म्यासचुसेट्स राज्यको बोस्टन स्थित विश्व प्रख्यात एमआइटि बिश्वबिद्यालयबाट सूचना प्रविधिमा स्नातक गरेका हुन् ।

गौतम केही समय नासामा पनि काम गरेका छन् । नासाले आविष्कार गरेको सूक्ष्म ग्रहको नाम २८४८८ गौतम (28488 Gautam)भनी राखिदिएको छ । उनले माध्यमिक विद्यालय अध्ययन गर्दै गर्दा गणितमा अन्तर्राष्ट्रिय पुरस्कार पाएकोले उनलाई सम्मान स्वरूप नासाले २८४८८ गौतम (28488 Gautam) नाम दिएको हो । गौतमले एमआईटि अध्ययन कै क्रममा अन्तिम वर्षमै व्यवसाय थालनी गरेका थिए । उनलाई आर्टिफिसिएल ईन्टेलिजेन्सको ७ वटा विषयमा एकस्व अधिकार(पेटेन्ट राइट) को आविष्कार गरे बापत पेटेन्ट पुरस्कार प्रदान गरेको थियो । गौतमले कुरा गर्दै भविष्यमा यस्ता सूचना प्रविधिको कम्पनीको निर्माण र विकास गर्ने योजना समेत रहेको बताए ।

प्रतिक्रिया