अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

२१ अरबमा निर्माण हुन लागेको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास

बिआरटीनेपाल २०७६ पुष १५ गते ९:५२ मा प्रकाशित

रसुवा, १५ पुस । रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेसी रुङ्गामा १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ ।

९० प्रतिशत विदेशी लगानी रहेको उक्त आयोजनामा नेपाली दीपक खड्काको १० प्रतिशत लगानी रहेको छ । चिनियाँ कम्पनी सिचुवान हुवानी ईनर्जी ईनभेष्टमेन्ट कोअपरेशन प्रा.ली.को ९० प्रतिशत लगानी रहेको छ । आगामी ३ वर्षभित्र आयोजनाको काम सम्पन्न गरिसक्ने विश्वास लिइएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हबमा जोडिने छ ।

२० अर्व ३८ करोड ९८ लाख ९४ हजार लगानी रहने उक्त आयोजनाले देशको ऊर्जा विकासमा ठुलो टेवा पुर्‍याउने विश्वास लिइएको छ । पूर्व मन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दीपक खड्काले १२ वर्षअघिदेखि देखेको सपना आज आएर साकार भएको छ ।

शिलान्यास कार्यक्रमपछि संक्षिप्त सम्बोधन गर्दै नेता खड्काले आफ्नो १२ वर्षदेखिको अथक प्रयासले आज सार्थकता पाएको सुनाए । उनले भने,‘देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनको लागि मैले ऊर्जाको विकासमा हात हाल्ने योजना बुनेको थिएँ । हिजोको हाम्रा दिनहरू कहाली लाग्दा थिए, दैनिक १८ घण्टासम्म हामीले लोडसेडिङ भोगेका थियौँ । त्यो अवस्था देखेर मैले ऊर्जामा लगानी गर्नुपर्छ भन्ने सोच राखेको थिएँ ।’

उनले यो आयोजना निर्माणको लागि आफूले चिनियाँ लगानीकर्तासँग दर्जनौँ पटक वार्ता तथा छलफल गरेको पनि सुनाए । त्यति मात्रै नभएर उनले यही आयोजनाको लागि आफूले धेरै पटक चीनको भ्रमणसमेत गरेको सुनाए ।
खड्काकारअनुसार उक्त आयोजनाले २०७० सालमा स्वीकृति पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । नेपालको समृद्धिको लागि ऊर्जा, कृषि, पर्यटन क्षेत्र भरपर्दो आधार भएको पनि उनको भनाई छ ।

उनले विकास र समृद्धिको लागि राजनीति गर्न नहुने तर्क गरे । नेपाल विद्युतमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको बताउँदै यहाँ उत्पादित जलविद्युत बङ्गलादेश र दुबईमा निर्यात गर्न सकिने पनि बताए । उनले भने,‘आज बङ्गलादेश र दुबईजस्ता मुलुकबाट विद्युतको माग बढेको छ । हामी यहाँ उत्पादित विद्युत् बेच्छौँ ।’

उनले नेपाल अब बिस्तारै सम्पन्न हुने बाटोतर्फ अघि बढेको सुनाए । खड्काको कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.ली. उक्त आयोजनाको प्रवर्द्धन कम्पनी हो । उनले उक्त परियोजना तोकिएकै समयावधिभित्र सम्पन्न गरिसक्ने पनि विश्वास दिलाए ।

कार्यक्रममा नेपाली काँग्रेसका रसुवा जिल्ला सभापति छिरिङ तामाङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष कर्णेल लामा, गाउँपालिका प्रमुख कैसुन नोर्वु तामाङ, उपप्रमुख कड्ल्यामु श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले पनि उक्त परियोजनाको बन्न लागेकोमा खुसी व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू