अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

घरभाडामा बस्नेको परिचय खोजेर राख्न प्रहरीलाई गृहको निर्देशन, देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:५५ मा प्रकाशित

गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकालेको छ। मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृहको निष्कर्ष छ। मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ। यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।

‘घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण जानकारी एवम् छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्ने निर्णय भएको छ,’ गृह स्रोतले भनेको छ । चिनियाँ नागरिक पक्राउपछि विकसित शान्ति सुरक्षाको समीक्षा गर्दै गृहले यस्तो निर्णय लिएको बताईएको छ । केही समयअघि प्रहरीले १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू