अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

स्विकारौँ अङ्ग्रेजी नयाँ वर्ष पनि

रश्मि भट्ट २०७६ पुष १४ गते १४:०९ मा प्रकाशित

कविता

प्रत्येक वर्ष नयाँ, नयाँ
उत्साह र सपनाहरू बोकेर
रङ्गिन कलेवरमा सजिएर
आइरहन्छ नयाँ वर्ष
भलै दिन सक्दैन उसले
सबैलाई समताको वातावरण
कसैलाई डुबाउँछ, गहिरो
ऑशू र पीडाको सागरमा
कसैलाई मिल्छ, अतुलनीय
सुख शान्ति, खुसी र हर्ष ।।

भाग्य आ- आफ्नै, कर्म आ–आफ्नै
बुद्धि, विवेक, देश र भेष आ-आफ्नै
रीति, धर्म, संस्कार र नयाँ वर्ष आ-आफ्नै
जहाँ बस्यो, त्यहाँको परिवेशले
केही हदसम्म झम्टा मार्छ सबैलाई
कर्म भूमिको हावाले छोइन्छ वातावरण
छोइनै पर्छ समायोजनको लागि पनि
बाॅच्न र कर्म गरेर खानलाई पनि
बुझ्नै पर्छ, परिस्थिति र रहन सहन ।

जसले, जहिले र जहाँ माने पनि
मानव मात्राको अनुभूति त हो
चेतनारूपी परिवर्तन र नयाँ वर्ष
दुःख, सुख, आशु, पीडा र हर्ष
कस्तै, परिवेश र भेषमा पनि
रमाउँदै बाॅच्न सिक्नुपर्छ
बोकेर सदा सदा मुटुभित्र देश
सबैसँग हातेमालो गर्न सक्नुपर्छ ।
विराट मन, मस्तिष्क र ऑखामा
ब्रह्माण्ड र ईश्वर कदापि अलग
अलग हुनै सक्दैन ।
मान्छेका जात र रङ्ग भिन्दै
भिन्दै हुनै सक्दैन ।

त्यसैले रमाउॅ अङ्ग्रेजी वर्षमा पनि
खुसी होउॅ ,अरूको धर्म र संस्कारमा पनि
प्राथमिकतामा सदैव आफ्नै देश र भेष
माटो, पानी र हावा, कला र संस्कृति
आत्मसात् गरेरै अघि अघि बढौँ
सम्पूर्ण मानव सभ्यता र इतिहास
हेरूँ, हेर्न सिकौँ, अनुभूत गर्न सिकौँ
विश्व, ब्रह्माण्डको यी अद्भुत लीला
हाम्रो यो मन मस्तिष्क र चेतनामा
सहजताका साथ अटाउन सिकौँ ।।