अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

अमेरिकाको कोलोराडोमा बिबिध सांस्कृतिक कार्यक्रमसहित च्यू ल्होसार मनाईयो

बिआरटीनेपाल २०७६ पुष १४ गते १३:४७ मा प्रकाशित

कोलोराडो । तमु धि कोलोराडोको आयोजनामा गुरुङ तमु जातिको महान् पर्व ल्होसार २०७६ दोहोरी गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । यो वर्ष मृग वर्ग अर्थात् फो ल्होको बिदाइ र मुसा वर्ग अर्थात् च्यु ल्होको स्वागतमा ल्होसार मनाइएको हो ।

 

कार्यक्रमको उद्घाटन तमु धि कोलोराडोका सल्लाहकार पूर्ण गुरुङले पानसमा बत्ती बाली गर्नुभएको थियो भने त्यसअघि सोनाम शेर्पाले बौद्ध परम्परा अनुसारको पूजाआजा गर्नुभएको थियो । कार्यक्रममा अमेरिका तथा नेपालको राष्ट्रिय गान बजाइएको थियो । दुई चरणमा संचालित कार्यक्रममा पहिलो चरणको सञ्चालन तमु धि कोलोराडोका महासचिव भुवन गुरुङ र दोस्रो चरणको कार्यक्रमको सञ्चालन प्रकाश जङ गुरुङले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तमु धि कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङले ल्होसारले गुरुङ जातिको संस्कार संस्कृति जगेर्ना गर्न उल्लेख्य भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा गुरुङहरूको संस्कृति झल्किने सोरठी, कौडा तथा गुरुङ समूहको भेषभुषाको विशेष प्रस्तुति सहित स्थानीय कलाकारहरूको गीत, नृत्य तथा दोहोरी प्रस्तुत गरिएको थियो । कार्यक्रमका मुख्य आकर्षणको रूपमा सहभागी सियाटलकी गायिका सिता गुरुङ र बोस्टनका गायक मीन केसीले आफ्ना आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो ।

 

ल्होको अर्थ वर्ग (वर्ष) र सारको अर्थ नयाँ हुने भएकोले ल्होसारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् । तमु धि कोलोराडोले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी कोलोराडोमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष यसै समयमा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।

 

तमु धि कोलोराडोले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ कोलोराडोमा ल्होछार पर्व मनाउँदै आएको हो । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होसार मनाउने गरेको तमु धि कोलोराडोका महासचिव भुवन गुरुङले जानकारी दिनुभयो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होछार मनाउँदै आएको महासचिव गुरुङले बताउनुभयो । फोटो: शैलेश पोखरेल

MORE PHOTOS CLICK HERE ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू