अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

ट्रम्पलाई पुटिनको धन्यवाद !

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिनुभएको छ । रुसमा गरिन लागेको आतंककारी कार्य रोक्न गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै पुटिनले धन्यवाद दिएको क्रेमलिनले जनाएको छ ।

क्रेम्लिनले विज्ञप्ति निकाली दुई राष्ट्रपतिबीच आइतवार फोनवार्ता भएको जनाएको छ । अमेरिकी गुप्तचर निकायबाट सूचना पाएको जनाए पनि त्यसबारे अरु विवरण सार्वजनिक गरिएको छैन । नववर्षका बेला सेन्ट पिटर्स्बर्गमा गरिन लागेको आतंककारी आक्रमणको योजना पत्ता लागेको रुसी सञ्चारमाध्यमहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

रुसी गुप्तचर निकाय एफएसबीका एक प्रवक्तालाई उधृत गर्दै समाचार संस्था टासले मानिस भेला हुने स्थानमा आक्रमण गर्ने योजनासम्बन्धी सामग्री बरामद भएको जनाएको छ । यसअघि सन् २०१७ को डिसेम्बरमा पनि पुटिनले अमेरिकी गुप्तचर निकायले सूचना उपलब्ध गराएको भन्दै ट्रम्पलाई धन्यवाद दिनुभएको थियो । त्यसबेला पनि सेन्ट पिटर्स्बर्गमा हुन सक्ने सम्भावित आतंककारी आक्रमणबारे कै सूचना दिइएको थियो ।

सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा क्रेमलिनले हस्तक्षेप गरी ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप विपक्षी डेमोक्रेट्सले लगाइरहेका बेला ट्रम्प र पुटिनबीचको सम्बन्ध प्रतिआतंकवादमा सहकार्य तहमा देखिएको हो । उहाँहरुबीच आतंकवाद नियन्त्रण गर्न परस्पर सहयोग गर्ने समझदारी पनि बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू